गायिका लोचन भट्टराईलाई रेडियो कान्तिपुरको सम्मान

फाल्गुन २४, २०८१ | काठमाडौं

रेडियो कान्तिपुरले शनिबार एक कार्यक्रमका बीच वरिष्ठ गायिका एवं संगीतकार लोचन भट्टराईलाई “सलाम ज्यूँदो इतिहासलाई” नामक कार्यक्रममार्फत् सम्मान गरेको छ । नेपाली संगीत क्षेत्रमा पछिल्लो समय छन्द र शास्त्रीय गायनको प्रयोग गर्दै आएकी भट्टराईले भानुभक्तको रामायण र श्रीमद्भगवत कोमल गीतालाई छन्दमा वाचन गरी सामाजिक सञ्जाल र यूट्युवमा उपलब्ध गराएकी छन् ।

सम्मान कार्यक्रममा सरिता शाही, एन्जिला श्रेष्ठ, गीता पाण्डे र शोभा पाण्डेले भट्टराईका टाढा टाढा नभइजाउ तिमी, हृदय छोई गरें पूजा, ऊ त गयो माया मारेर, माया गर्नेको चोखो माया लगायत गीतहरु पस्किएका थिए । भट्टराईले नयां पुस्ताका गायिकाले आफ्नो गीत अझ राम्ररी गाएको भन्दै उनीहरुको प्रशंसा गरिन् । स्रष्टा सम्मानको श्रृंखलालाई जारी राख्न पनि भट्टराईको सुझाव थियो ।

२०४४ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिने क्रममा भूपेन्द्र रायमाझीको संगीत र शब्दमा टाढा टाढा बोलको गीत गाएर आफू प्रथम हुंदा तारा थापा दोस्रो र सपनाश्री तेस्रो भएको प्रसङ्ग पनि कार्यक्रममा भट्टराईले सुनाइन । ११ सय भन्दा बढी गीत गाइसकेकी लोचनको सोलो एल्बम संख्या नै १५ भन्दा बढी छ । जसमा १० वटामा त उनले एकल संगीत समेत दिएकी छन् । बाल्यकालमा जन्मथलो धरान र विजयपुर वरपरका वन जंगल घन्काएर गीत गाउंदा नै रियाज भएको सुनाएकी उनले अचेल तानपुराको मोबाइल एप्लिकेसनमा रियाज गर्ने उल्लेख गरिन् । त्रिभुवन विश्वविद्दालयबाट संगीतमा स्नातकोत्तर गरेकी भट्टराईले भारतको ईलाहवादबाट पनि संगीतमै मास्टर्स गरेकी छन् ।

बाल्यकालमै पिता गुमाए पनि विवाहपछि श्रीमानको प्रेरणाले गायनलाई निरन्तरता दिन सकेको भन्दै उनले सबै महिलालाई घर परिवारबाट सहयोग भए उनीहरु धेरै अघि बढ्नसक्ने बताइन् । महिला दिवसकै दिन रेडियोले आफूलाई सम्मान गरेकोमा उनले साधुवाद दिइन् । लोचनको स्वर नेपाली आधुनिक, विभिन्न भाषाभाषी, चलचित्रमा पार्श्वगायन हुंदै छन्द कवितासम्म फैलिएको छ । जुनसुकै भाषा पनि शुद्ध उच्चाहरण गर्न माहिर भट्टराईलाई उनको त्यही प्रतिभा देखेर नारायण गोपालले सहकार्य गर्न बोलाएका थिए । नारायण गेपाल स्वणिर्म सन्ध्यामा लोचनले उनलाई विभिन्न गीतमा साथ दिएकी थिइन् । तर, ‘नारायण दाइ’संग गीत रेकर्ड गर्ने उनको धोको भने पूरा भएन ।


प्रतिक्रिया