सलाम ज्यूँदो इतिहासलाईमा देविका वन्दना

जेष्ठ ३१, २०८२ | काठमाडौं
एक हजार बढी गीतमा स्वर दिइसकेकी वरिष्ठ गायिका देविका वन्दनालाई रेडियो कान्तिपुरले शनिबार सलाम ज्यूँदो इतिहासलाई कार्यक्रममा सम्मान गरेको छ । झण्डै ४ दशकयता नेपाली संगीतको उन्नयनमा सक्रियतापूर्वक लागेकोमा रेडियोले उनलाई सम्मान गरेको हो । कुनै समय नेपाली पाश्र्व गायनमा एकछत्र राज गरेकी उनले १ सय बढी चलचित्रमा गीत गाएकी छन् । नेपालीबाहेक नेवारी, मैथली, भोजपुरी, मराठी र हिन्दी भाषामा पनि उनले गीत गाएकी छन् । उनको एकल एल्बमको संख्या नै झण्डै डेढ दर्जन हाराहारी छ ।
रेडियो कान्तिपुरका स्टेशन म्यानेजर पवन आचार्यले संगीतमा देविका वन्दनाले पु¥याएको योगदानका साथै प्राणघातक क्यान्सर लाग्दा समेत संगीत कर्म नछोड्ने उनको साहसका बारेमा चर्चा गर्न पनि कार्यक्रम सफल भएको बताए । रेडियोका तर्फबाट सम्मानपत्र र दोसल्ला ओढाएर आचार्यले देविका वन्दनालाई सम्मान गरे ।
विद्यालयस्तरबाटै सांगीतिक कार्यक्रमहरूमा भाग लिएकी देविकाले भारतीय संस्था प्रयाग संगीत समिति, भारतबाट एम म्युज (संगीतविशारद) सम्मको औपचारिक अध्ययन पूरा गरेकी छन् । उनको पहिलो गीत’हे मायालु तिमीलाई’ २०४६ सालमा रेकर्ड भएको थियो । सो गीत प्रवीण गुरुङको एल्बम ’संगम’ मा समावेश थियो । उहाँको पहिलो एल्बम’परदेशी’ २०५२ सालमा सार्वजनिक भयो । सो एल्बमको एउटा परदेशी आई बोलको गीतले नै उनलाई चर्चाको शिखरमा पु¥यायो । गीतमा ललिजन रावलको शब्द र नरेन्द्र प्यासीको संगीत रहेको थियो । त्यतिबेला नै यादव खरेलको शब्द र शम्भुजित बास्कोटाको संगीतमा सजिएको गीत’यस्तै रहेछ यहाँको चलन’ सार्वजनिक भयो र त्यसपछि देविकाले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।
उनले भनिन्, “शुरुमा संगीतमा लाग्दा रहर थियो । पछि साधना गरें । अहिले क्यान्सर जितेर आएपछि मेरो जन्म नै संगीतको लागि भएको हो कि भन्ने लाग्दैछ ।”
गायिकाको रूपमा मात्र नभई देविका सिर्जनात्मक लेखनमा पनि सक्रिय छिन् । उनको ’यहाँको चलन’, ’सपनी’, र ’जित्नेको हाँसो’नामक पुस्तकहरू प्रकाशित छ । पुस्तकहरूको बिक्रीबाट आएको आम्दानी अनाथ बालबालिका र वृद्धवृद्धाको सहयोगमा खर्चिने गरेको उनले सुनाइन् । भजन गाउन मन पराउने देविकालाई नेपाली भाषाको आरती गाउने गायिकाको रुपमा पनि धेरैले चिन्दछन् । “घरमा आमा र सासुहरुले पूजा गर्दा हिन्दीमा आरती गरेको सुनेपछि मैले नेपालीमै आरती रेकर्ड गराउने सोच बनाएकी थिएँ । अहिले विदेशका मन्दिरमा पनि नेपालीमा आरती हुँदा खुसी लाग्छ ”– उनले भनिन् ।
जीवनको पछिल्लो कालखण्ड भने उनको स्तन क्यान्सरसँग लडेर बित्यो । क्यान्सर लागेकै बेलामा पनि उनले गीतहरु रेकर्ड गर्न छाडिनन् । “किमो चलाएको ४–५ दिनपछि म गीत रेकर्ड गर्न जान्थें– उनले भनिन् “मलाई संगीतले नै शक्तिशाली बनाएको अनुभव भयो । त्यसकारण पनि मैले जस्तोसुकै परिस्थितिमा पनि यसलाई अंगाल्ने गरेको छु ।”
कार्यक्रममा चर्चित कलाकारहरु रुपक डोटेल, प्राश्ना शाक्य, निशा देशार, सरिता शाही र मञ्जु थापाले देविकाका केही कालजयी गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रम रेडियो कान्तिपुर र कान्तिपुर म्याक्स टेलिजिभनबाट प्रत्यक्ष प्रसारण भएको थियो ।