सरकारी निर्देशन विपरीत नीजि विद्यालय अभिभावकसँग शुल्क उठाउँदै

जेष्ठ १०, २०७७ | काठमाडौं

– लकडाउनका कारण बन्दव्यापार र अन्य व्यवसाय समेत ठप्प पारेर घरमा बसीरहेका अभिभावकको मोबाइलमा यतिबेला विद्यालयको शुल्क तिर्नुहोस् भनेर म्यासेज र फोन आउन थालेको छ । शिक्षा मन्त्रालयले नयाँ भर्ना नलिन र अनलाइन कक्षाका नाममा शुल्क नउठाउन निर्देशन दिएपनि विद्यालयलहरुले अभिभावकसँग ताकेता गर्न छोडेका छैनन् । अभिभावक यतिबेला लकडाउन र विद्यालयको शुल्कको दोहोरो मारमा छन् ।

दीपक शर्माको मोबाइलमा नानीहरु पढ्ने स्कुलले बैंकमा रकम जम्मा गरीदिनुहोला भन्ने म्यासेज पठायो । त्यसपछि उनले चिनेजानकाहरुलाई पनि शुल्क तिर्न भनेर विद्यालयले म्यासेज पर्ठा नपठाएको बारे बुझ्ने कोशिश गरे । दीपक त एक उदाहरण मात्र हुन् । धेरै जसो विद्यार्थीको अभिभावकको मोबाइलमा सम्बन्धित विद्यालयले शुल्क तिर्नका लागि म्यासेज, नत्र फोन गरीसकेका छन् । चैत्र दोस्रो साता यता सबै क्षेत्र ठप्प प्राय: छन् । उद्योग –कलकारखाना, बजार पसलमा मानिसहरुको चहलपहल कम भएसंगै हरेक व्यक्तिको आम्दानी घटेको छ । कत्तिको त व्यवसाय नै ठप्प छ । कोरोना भाइरसका कारण विषम परिस्थिति सिर्जना भएसंगै सबै क्षेत्र अन्यौल बनेको छ । अभिभावक संघका अध्यक्ष केशव पुरी राज्यको निर्देशन अटेर गर्दै कतिपय नीजि विद्यालयले अभिभावकको अवस्था नबुझी मानसिक यातना दिइरहेको आरोप लगाउनुहुन्छ ।

नीजि विद्यालयको आम्दानी स्रोत विद्यार्थीबाट उठाउने शुल्क नै हो । सरकारले विद्यालय स्तरका सबै परीक्षा चैत्र ५ गते भित्र सक्न निर्देशन जारी गरे यता पठनपाठन लगायतका क्रियाकलाप पनि बन्द नै छन् । एन प्याव्सनका सल्लाहकार कर्ण शाही अहिलेको अवस्थालाई बुझेर निकास निकाल्नुपर्ने बताउनुहुन्छ ।

शैक्षिक सत्र शूरु भएको करिब डेढ महिना हुन लाग्दा पनि विद्यालय खुल्ने अत्तोपत्तो छैन । काठमाण्डौं उपत्यकाका अधिकांश विद्यालयले अनलाइन कक्षा शुरु पनि गरेका छन् । कतिपय विद्यालयले विद्यार्थीबाट शुल्क उठाइसकेका छन् भने कतिपयले उठाउन पाएका छैनन् । प्याव्सनका महासचिव कुमार बस्नेत आफूहरुले यो बखत शुल्क उठाउन नपाएकाले सरकारलाई प्रस्ताव गरेको विषयले सहज हुने आशा व्यक्त गर्नुहुन्छ ।

विद्यालयले शुल्कका लागि म्यासेज पठाएको गुनासो आउन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरिसकेको छ । अभिभावकको मोवाइलमा त्यस्ता प्रकृतिका म्यासेज आए विद्यालय रहेको स्थानीय निकायमा उजुरी गर्न सक्ने मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउनुहुन्छ ।

लामो समयको लकडाउनका कारण कत्तिको त रोजीरोटीको माध्यम नै गुमेको छ । कतिपय प्राइभेट कम्पनीले आम्दानी घटेपछि तलबमा पनि कटौती गर्न थालेका छन् । कतिपयको चुल्हो नै बाल्न नसक्ने अवस्था पनि भएको छ । अभिभावकबाट शुल्क उठाएर विद्यालय सञ्चालन गर्नेहरु पनि यतिबेला मारमा छन् । विद्यालय सञ्चालक, शिक्षक, अभिभावक कोही पनि मर्कामा नपर्ने गरी छलफल गरेर निकास निकाल्न सके नै यो विषम परिस्थितिमा सबैको भलो हुनेछ । 


प्रतिक्रिया