कांग्रेसको सातौं देखि १३ औं महाधिवेशनसम्म

मंसिर २४, २०७८ | काठमाडौं

नेपाली काँग्रेसको १४ औं महाधिवेशन विशेषमा काठमाडौंको लक्ष्मी निवासमा भएको सातौं महाधिवेशनदेखि १३ औं महाधिवेशनका बारेमा चर्चा गर्दछौँ ।

१. नेपाली काँग्रेसको सातौँ महाधिवेशन २०१६ बैशाख २५ देखि ३१ गतेसम्म काठमाडौंमा सम्पन्न भयो । वीपी कोइराला पुन: पार्टीभापति बनायो । काठमाडौंको लक्ष्मी निवासमा भएको महाधिवेशनमा वीपी ५ हजार ९ सय ६२ मत ल्याएर विजयी हुनुभयो । डा. भुदेव राईले ८ सय ६२ मत ल्याए । त्यसअघि २०१५ सालमा सम्पन्न आम निर्वाचनमा नेपाली काँग्रेसले वीपी कोइरालाको नेतृत्वमा बहुमत ल्याएर सरकार निर्माण गरेको थियो । काँग्रेस महाधिवेशन भएको झण्डै ८ महिनापछि २०१७ साल पुस १ गते नेपाल तरुण दलको सम्मेलन स्थलबाट प्रधानमन्त्री कोइराला, मन्त्रीहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय तथा सभामुख कृष्णप्रसाद भट्टराई गिरफ्तार भए । तत्कालिन राजा महेन्द्रले राजनीतिक पार्टिहरूमाथि पुस २२ गते प्रतिबन्धको घोषणा गरे । राजा महेन्द्रको यही कदमले प्रजातन्त्रमा आस्था राख्ने राजनीतिक दल र दरबारबीच झण्डै २ दशक टकराब चल्यो । काँग्रेसले त्यसपछि केही समय शसस्त्र आन्दोलन पनि गर्‍यो । तर, शान्तिपूर्ण आन्दोलनकै दबाबमा २०३६ सालमा जनमत संग्रह भएको थियो ।

२. पूरै पञ्चायत अवधिभर नेपाली कँग्रेसको महाधिवेशन हुन सकेन । दलहरुमाथि लागेको प्रतिबन्धका कारण नेपालभित्रै महाधिवेशन गर्न पनि समस्या थियो । तर, २०३४ सालमा भारतको पटनामा भएको महाधिवेशनले कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापति चयन गर्‍यो । प्रजातन्त्र पुनर्बहालीपछि २०४८ सालमा झापाको कलबलगुडीमा आठौँ महाधिवेशन भयो । त्यतिबेला प्रधानमन्त्री रहेका कृष्णप्रसाद भट्टराई सर्वसम्म्त सभापति निर्वाचित भए । भट्टराई सर्वसम्म्त सभापति हुनमा त्यतिबेला गिरिजाप्रसाद कोइराला र गणेशमानबीच चलेको द्वन्द्वले पनि मद्दत गरेको थियो ।

३. आठौँ महाधिवशेनपछि नेपाली काँग्रेसको राजनीतिक ध्रुवीकरण परिवर्तन भयो । कृष्णप्रसाद भट्टराई र गणेशमान एक ठाउँमा उभिए । गिरिजाप्रसाद कोइराला एक्लै । २०५३ साल बैशाख २७ देखि ३१ गतेसम्म काठमाडौंको नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध गणेशमान र कृष्णप्रसादको उम्मेदवार बने चिरञ्जीवी वाग्ले । रामहरि जोशीले पनि उम्मेदवारी दिएका थिए । तर, गिरिजाप्रसाद कोइराला १ हजार १ सय ४४ मत ल्याएर विजयी भए । वाग्लेले २ सय ५४ मत ल्याउँदा जोशीले जम्मा १२ मत पाए ।

४. नवौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाको साथ उभिएका शेरबहादुर देउवा २०५७ साल माघ ६ देखि १० गतेसम्म पोखरामा भएको दशौं महाधिवेशनमा गिरिजाप्रसादकै विरुद्ध सभापतिमा उठे । अघिल्लो महाधिवेशनमा पनि उम्मेदवार बनेका पूर्वकोषाध्यक्ष रामहरि जोशीले पनि उम्मेदवारी दिए । तर, महाधिवेशनले गिरिजाप्रसाद कोइरालालाई ९ सय ३६ मत दिएर सभापति निर्वाचित गर्‍यो । देउवाले ५ सय ७ मत ल्याए । जोशीले जम्मा १० मत पाए । दशौं महाधिवशेनको विशेषता के रह्यो भने यसै महाधिवेशनदेखि सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने व्यवस्था विधानमा गरियो ।

५. दशौँ महाधिवेशन सकिएको २ वर्षमै काँग्रेस फुट्यो । शेरबहादुर देउवाले २०५९ असारमा नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी गठन गरे । २०६२ भदौ १४ देखि १७ गतेसम्म ललितपुरमा भएको ११ औं महाधिवेशनले गिरिजाप्रसाद कोइरालालाई सभापतिमा चुनौती दिने नेता थिए नरहरि आचार्य । मतदानमा कोइरालाले १ हजार २ सय ९५ मत पाए । आचार्यको नाममा १ सय ६५ मत रह्यो ।

६. काँग्रेसले १२ औं महाधिवेशनबाट आफूलाई समावेशी संरचनामा लगेको थियो । काठमाडौंमा २०६७ साल असोजमा भएको १२ औं महाधिवेशनले क्लस्टर अनुरुप समावेशी ढाँचाको केन्द्रीय कार्यसमिति गठन गरेको थियो । सुशील कोइराला र शेरबहादुर देउवाबीचको स्पर्धामा कोइराला १ हजार ६ सय ५२ मतसहित विजयी भए । देउवाले १ हजार ३ सय १७ मत ल्याए ।

७. पार्टी सभापति सुशील कोइरालाको निधन भएकाले कार्यबाहक सभापति रामचन्द्र पौडेलले २०७२ फागुन २१ देखि २५ गतेसम्म चलेको १३ औं महाधिवेशन उद्घाटन गरे । सभापतिमा पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला उम्मेदवार थिए । ८५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ६४ पदमा चुनाव भयो । बाँकी मनोनित गर्ने व्यवस्था थियो । खसेको मतको ५० प्रतिशत नघाउने मात्रै सभापति हुने व्यवस्था कसैले पनि पुर्‍याउन सकेनन् । दोस्रो चरणमा पौडेल र देउवाबीच प्रतिस्पर्धा भयो । देउवाले १ हजार ८ सय २२ मत पाएर विजयी भए । पौडेलले १ हजार २ सय ९६ मत ल्याए । 


प्रतिक्रिया