प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

भाद्र ११, २०८२ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुहुने कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओली सो शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरूद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवमा सहभागिता जनाउन आगामी भदौ १४ गते चीनतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्नुहुनेछ । उहाँले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । यस्तै, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुनेछ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनुहुनेछ ।