सिन्धुली कारागारबाट काठमाडौंमा लागूऔषधको गिरोह सञ्चालन

पुस २०, २०७८ | काठमाडौं

कारागारमा बसेर कैदीले काठमाडौं उपत्यका लगायतका जिल्लामा नियन्त्रित लागूऔषध कारोवारको सञ्जाल चलाउने गरेको रहस्य सार्वजनिक भएको छ । 

सिन्धुली कारागारबाट लागूऔषध बिक्री वितरण गर्ने मुख्य नाइके भनिएका भारतीय नागरिक गुड्डु गुप्ताको सञ्जाललाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले तोडेको छ । 

कैदीहरुको मिलेमतोमा विभिन्न व्यक्तिहरुलाई तलब नै दिएर लागूऔषधको कारोबार गर्दै आएको खुलासा भएसँगै मुलुकका कारागार प्रशासन र त्यहाँ कार्यरत कर्मचारीको भूमिकामाथि प्रश्न उब्जाएको छ ।

कारागार भनेका अपराध गर्नेहरुलाई कैद सजाय दिने थलो मात्रै हैनन, सुधार गृह पनि हुन् । कारागारको हविगत नै सुधार हुन नसक्दा जेल जीवन अस्तव्यस्त र कष्टपूर्ण छ । तर, त्यहि कष्टपूर्ण जेलबाट पनि अपराधको दुनियाँमा छाईरहेका छन् केही कैदीबन्दी । जसको पछिल्लो उदाहरण बनेका छन् – भारतीय नागरिक गुड्डु गुप्ता । उनी लागूऔषध ब्राउन सुगर सहित २०६८ सालमा काठमाडौंबाट पक्राउ परे । 

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले १८ बर्ष कैद फैसला गर्‍यो । सजाय भुक्तानका लागि उनी रौतहट कारागारमा छन् । यसअघि सिन्धुली कारागारमा रहँदा उनले पूरानो पेशालाई निरन्तरता दिइरहे । उनलाई लागूऔषध मुद्दामै ५ बर्षको कैद सजाय भुक्तान गरिरहेका सन्तोष स्याङ्तानले सहयोग गरेको लागूऔषध नियन्त्रण ब्यूरो एनसीबीका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) ह्दय थापा बताउनुहुन्छ ।

प्रहरी हतपत लागूऔषध कारोबारीको मुख्य नाइके सम्म पुग्दैन तर, यो पटक भने प्रहरीले मूख्य अभियुक्तको कठालो नै समात्न पुग्यो । तर, लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका ब्यक्ति नै मुख्य अभियुक्त रहेको जब अनुसन्धानमा खुल्यो तब प्रहरी समेत आश्र्चयमा पर्‍यो । एसएसपी थापा भन्नुहुन्छ, ‘त्यसपछि खुल्यो कारागारका कर्मचारी र जेलभित्रै रहेका अपराधीको मिलेमतोमा गुड्डुले लागूऔषध कारोबार गरेको ।’ 

सिन्धुली कारागारमा रहदा गुड्डुले ९ जनालाई परिचालन गरी लागूऔषध कारोबारको धन्दा चलाइरहेको ब्यूरोका प्रहरी उपरिक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताउनुभयो । गुड्डुले महिनावारी तलब दिएर केहीलाई लागूऔषध बेचबिखनमा संलग्न गराएको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । गुड्डुले लागूऔषधको कारोबार गर्न ती ब्यक्तिलाई मासिक १३ देखि २० हजार रुपैयाँसम्ममा ‘रोजगारी’ दिएको प्रहरीले जनाएको छ । 

सुरजसिंह ठकुरी, दीपक महर्जन र दुई नावालकलाई समेत उनले रकम दिएको ब्यूरोले जनाएको छ । उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । ब्यूरो स्रोत भन्छ, ‘गुड्ड मातहतका ब्यक्ति जब पक्राउ पर्न सुरु भयो, तब गुड्डु र सन्तोषको सरुवा भयो ।’ 

गुड्डु र सन्तोष हाल रौतहट कारागारमा छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले के देखायो त भन्ने प्रश्नमा एएसपी थापा भन्नुहुन्छ, ‘गुड्डुले सिन्धुली जिल्ला कारागारमा कार्यरत कार्यालय सहयोगी ३९ बर्षीया रीता सारु मगरलाई समेत प्रयोग गरेर लागूऔषध कारोबारको सञ्जाल चलाएको पाइयो ।’ 

यस्तै, लागूऔषध कारोबारको रकम रीताको बैंक खाताबाट लेनदेन हुने गरेको देखिएको उहाँले बताउनुभयो । रीताको खातामा विभिन्न ब्यक्तिहरुले लागूऔषध कारोबारको रकम हाल्ने र अरुलाई पठाउने गरेको देखिएको एसएसपी थापाको भनाई छ । उहाँले भन्नुभयो ‘रीताको खातामा एक पटकमा ४ हजार देखि ५० हजार रुपैयाँसम्म पठाउने गरेको देखिएको छ । 

त्यस्तै, उनको खाताबाट अरु कारोबारीलाई ७५ हजारदेखि १ लाख रुपैयाँसम्म पठाएको पनि देखिएको छ ।’ एसएसपी थापाले भन्नुभयो, ‘केही रकम दिएकाले रीताले आफ्नो खाता प्रयोग गरेको देखिन्छ । अहिलेसम्म यो रकम लागूऔषध कारोबारको हो वा होइन भन्ने जानकारी रीतालाई नभएको देखिन्छ । थप अनुसन्धान भइरहेको छ ।’ 

उहाँका अनुसार रीतालाई पक्राउ गरिएको छ । गुड्डुले जेलबाटै कसरी लागूऔषधको डिल गर्दा रहेछन त भन्ने प्रश्नमा ब्यूरोका एसपी श्रेष्ठ भन्नुहुन्छ, ‘उसले जेल बाहिरका मानिसलाई कारोबार गर्दा फलानो ठाउँमा जानु, त्यहा गएर यस्तो लुगा लगाएको, यसरी बसिरहेको मानिसलाई भेट्नु भन्ने रहेछ । उसलाई फोनमा नै यसरी मानिस बसिरहेको छ भन्ने थाहा हुन्यो ।’

गुड्डु समूहबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध समेत बरामद गरेको छ । जेल भित्र रहेका गुड्डुले भारतबाट नेपाल सम्म लागूऔषध ल्याउन गिरोह नै सञ्जाल गरेको देखिन्छ । नेपाल भित्रिने लागूऔषधको जेलभित्रैबाट कारोबार हुँदै आएको रहस्य अनुसन्धानबाट खुल्नु प्रहरी प्रशासनका लागि ठूलै चुनौती पनि हो । 

हुन त कारागार भित्रै हुने अपराधको यो कुनै नयाँ केस होईन । हत्या, फिरौती, नक्कली नोटको कारोबारी, चन्दा लगायतका ‘अपराध’को घेरामा पर्ने गतिविधि जेलभित्रै बाट पटकपटक हुँदै आएको छ । यसले मुलुक भित्रका जेल कस्ता छन् भन्ने ऐना देखाईदिन्छ । 


प्रतिक्रिया