कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनको अवस्था भद्रगोल

माघ २३, २०७८ | काठमाडौं

तत्कालीन समयमा नेपाली कांग्रेसले जुन उद्देश्यले भ्रातृ संगठन स्थापना गरेको थियो त्यो परिस्थित अहिले छैन । तर, पञ्चायती ब्यवस्था फेर्न र राजालाई सत्ताच्युक्त गर्न गरिएको जनआन्दोलन होस् वा २०४६ सालको आन्दोलन किन नहोस् नेपाली कांग्रेसका भ्रातृ संगठनको भूमिका अतुलनिय थियो । तर, अहिले कांग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल के हुन् र के गर्छ भन्ने नयाँ पुस्तालाई थाहै छैन । 

कांग्रेसका १३ वटा भ्रातृ तथा १६ वटा शुभेच्छुक संस्था माउ पार्टीका सीमित नेताहरुको स्वास्र्थ पूर्तिका लागि मात्रै प्रयोग भईरहेको देखिन्छ । कांग्रेसको विद्यार्थी, तरुण, महिला, दलित र मुस्लिम संगठन हाल नेतृत्वविहीन छन् । नेविसंघ तदर्थ समितिका सभापति राजिव ढुंगाना, तरुण दलका सभापति जितजंग बस्नेत, मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार पार्टीको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनीहरु स्वत: पदमुक्त भएका हुन् । 

यस्तै, महिला संघका अध्यक्ष उमा रेग्मीलाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेसँगै सो संगठन पनि नेतृत्वविहीन बन्न पुगेको हो । दलित संघका अध्यक्ष मीन विश्वकर्माले भने गत भदौमै राजीनामा दिनुभएको थियो । कांग्रेस विधानमा भ्रातृ संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भ्रातृ संस्थाको पद स्वत: रिक्त हुने विधानको दफा ४२ को २ (ङ) मा व्यवस्था छ । 

नेतृत्वविहीन भएको भ्रातृ संगठनको महाधिवेशनका लागि कुनै सुरसार कांग्रेसले गरेको देखिदैन । महाधिवेशन आयोजना गर्न यथाशीघ्र तदर्थ समिति गठन गर्न र छिटो महाधिवेशन गरेर संगठनलाई जागरुक बनाउन माग गर्दै विद्यार्थी नेता तथा तरुण युवाहरु पार्टी नेतृत्वलाई दिनहँु झक्झक्याइ रहन्छन् । तीनै मध्येका एक हुनुहुन्छ विनोदराज जोशी । 

मुलुकमा भएका राजनीतिक परिवर्तन तथा विद्यार्थी आन्दोलनको सदैव नेतृत्व गर्दै आएको संगठन अहिले क्रियाशील र जुझारु नेतृत्वको अभावमा अलमलिएको भान जोशीलाई परेको छ । कांग्रेसको भ्रातृ तथा शुभेच्छुक संघ/संस्थाको नेतृत्व गरिरहेकाहरु अधिकांश नेताहरु सभापति देउवा निकटका हुन् । सभापति देउवाले तरुण दल र नेविसंघ, महिला संघ र दलित संघका अध्यक्षहरुलाई सोही पदमै रहन दबाब दिने गरेको स्रोत बताउँछ । 

पटक/पटक महाधिवेशनको म्याद गुजारेका कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनको म्याद थपिदै आएकोमा पछिल्लो पटक थप गरिएको म्याद समेत माघ १६ गते सकिएको छ । नेविसंघ स्थापनाको ५ दशकसम्म पनि चलायमान संगठनको रुपमा आफूलाई उभ्याउन सकेको छैन । नेविसंघको स्थापनाकाल कै कार्यसमितिमा काम गरेका शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको नेतृत्वमा हुनुहुन्छ । 

३१ वर्षको उमेरमा नेविसंघको केन्द्रीय सभापति भएका धनराज गुरुङ अहिले कांग्रेस उपसभापति हुनुहुन्छ । नेविसंघ मात्र होइन तरुण दल, महिला संघ, दलित संघ लगायत भित्र पनि हालत यस्तै र उही छ । नेताहरुको प्रत्यक्ष हस्तक्षेप, तरुण कार्यकर्ता माउ पार्टी प्रति आशावादी नहुनुले भ्रातृ संघ/संस्थाको अस्थित्व पनि संकटमा पर्न लागेकोमा चिन्ता छ, युुवा नेता भुपेन्द्रजंग शाहीलाई । पार्टी नेतृत्वले भ्राृत संगठनप्रति देखाएको भूमिका प्रति उहाँ त्यति सन्तुष्ट देखिनुहुन्न् ।

राजनीतिक सामाजिक मुद्दा सँगसँगै नेविसंघ, तरुण दल, महिला तथा दलितसंघ अब परिस्थित अनुसार चल्नुपर्नेमा त्यसो हुन नसकेको कांग्रेसीजनको बुझाई छ । पार्टी पदाधिकारीहरु नै भ्रातृ संस्थाहरुको महाधिवेशन छिटो गराउन गम्भीर नभएको नेविसंघका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर बताउनुहुन्छ । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भने भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउँनुहुन्छ । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महामन्त्री शर्माले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीब्रता दिन पनि नेविसंघ जस्ता संगठन बलियो हुनुपर्ने तर्क गर्नुहुन्छ । 

नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ बाहेक प्रजातन्त्र सेनानी संघ, किसान संघ, भुतपूर्व सैनिक संघ, आदिवासी जनजाती संघ, अपाङ्ग संघ, मुस्लिम संघ, तामाङ संघ, मगर संघ, ठाकुर संघ कांग्रेसका भ्राृत संगठनहरु हुन् । नेपाल प्रेस युनियन, निजामती कर्मचारी युनियन, सांस्कृतिक संघ, ट्रेड युनियन, प्रजातन्त्रवादी प्राध्यापक संघ, डेमेक्रेटिक लयर्स एसोसिएसन, चिकित्सक संघ लगायत शुभेच्छुक संगठन हुन् । 

महाधिवेशन हुन नसक्दा यी संगठनहरु समेत लथालिङ्ग छन् । स्थानीय तहको निर्वाचन संघारमा रहेकाले भ्रातृ तथा शुभेच्छुक संघ/संस्थालाई चुनाव प्रचार प्रसार र मतदातामाझ पुर्‍याउन परिचालन गर्नुपर्ने अपेक्षा पार्टीपंक्तिले गरेको छ । तर, नेतृत्व भ्रातृ तथा शुभेच्छुक सस्था भित्र देखिएका समस्या समाधान गर्नुको साटो कानमा तेल हालेर बसेको छ । 

पार्टीलाई गतिशील बनाउने मातहतका संगठनलाई लामो समय सम्म भद्रगोल बनाइराख्दा त्यसले पार्ने असरप्रति सभापति देउवासहितको नेतृत्वको बेवास्ता उदेक लाग्दो भएको महसुस कंग्रेसीजनले गरेका छन् । 


प्रतिक्रिया