कांग्रेसले लखेटे एमालेसँग पनि तालमेल हुन सक्छ : दाहाल

चैत्र ३, २०७८ | रुपन्देही

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा एमालेसँग पनि तालमेल हुन सक्ने संकेत गर्नु भएको छ । गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि एमालेसँग छलफल नभएपनि कांग्रेसले लखेट्नै खोजेको अवस्थामा एमालेसँग पनि ढोका बन्द नभएको उहाँले बताउनुभयो । 

लुम्बिनी प्रदेशको प्रदेश स्तरीय निर्वाचन केन्द्रित प्रशिक्षणलाई सम्बोधन गर्न बिहीबार रुपन्देही पुुगेका दाहालले राजनीति सम्भावनाको खेल भएकाले दुबै सम्भावना उत्तिकै रहेको बताउनुभयो । 

‘एमालेसँग तत्काल कुनै छलफल भएको त छैन,’ उहाँले भन्नुभयो, ‘तर, कांग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिंदैन् ।’ अध्यक्ष दाहालले देशभरका कार्यकर्तालाई आफ्नै शक्ति र आफ्नै एजेण्डामा तालबिना नै निर्वाचन लड्न र जित्ने गरी तयार हुन निर्देशन दिनुभयो । 

गठबन्धनकाबीच तालमेल भईहाले पनि दशैभर नहुने र स्थानीय आवश्यकताका आधारमा मात्र हुने भएकाले आफ्नो संगठनलाई बलियो बनाउने, आर्थिक र राजनीतिक एजेण्डा लिएर जनतामा जाने र आफ्नै तागतमा उत्साहका साथ निर्वाचनमा होमिन पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । 

तालमेलको विषयमा कांग्रेस र गठबन्धन दलका मुख्य नेतृत्वमा कुनै विमती नभएपनि केही नेताहरुमा अतिवादी प्रवृत्ति देखिएको उहाँले बताउनुभयो ।

एमसीसीको विषयमा देश र गठबन्धन दुबै संकटमा परेकाले आफूहरुको टोली देशलाई निकास दिन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेको तर, ओलीमा देशप्रतिको चिन्ता नदेखिएर पुरानो कुण्ठा मात्र प्रकट भएपछि केही विषय परिमार्जन गर्दै संविधानको अंग बनाएर एमसीसी पास गर्न माओवादी सहमत भएको उहाँको भनाई छ ।

उहाँले एमसीसीमा देखिएको समस्या र संसय टरेको भएपनि अझै प्रतिगमनको खतरा रहेको बताउनुभयो । प्रतिगमनका खतराले गठबन्धन बलियो बनाउनुपर्ने र निर्वाचनपछि पनि गठबन्धन बनाएरै अघि बढ्नुपर्ने अवस्था रहेको गठबन्धनका नेतृत्वबीच सहमति भएको उहाँले जानकारी दिनभयो ।  


प्रतिक्रिया