गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी

जेष्ठ ११, २०७९

सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा टिकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी हुनु भएको छ । खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गर्नुभयो भने उहाँका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गर्नुभयो । खड्का एमाले पूर्व जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । कांग्रेस केन्द्रीय सदस्य गिरी २०७४ को निर्वाचनमा पनि प्रमुखमा प्रतिस्पर्धा गरी पराजित हुनु भएको थियो । ०७४ मा एमालेका घनश्याम पाण्डे २२ हजार ८ हजार ५७ मतका साथ विजयी हुनु भएको थियो भने गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गर्नु भएको थियो ।

उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी हुनु भएको छ । चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गर्नु भएको छ । चौधरीले तुलसीपुरमा दिदी घर संस्था सञ्चालन गरी असहाय बालबालिकाको संरक्षण गर्दै आउनु भएको छ । उहाँ पहिलोपटक निर्वाचनमा होमिएर निर्वाचित हुनु भएको हो । जिल्लाका १० स्थानीय तहमध्ये एमालेले घोराही र तुलसीपुर उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितेको छ । 

कांग्रेसले लमही नगरपालिकाका साथै बबई, दंगिशरण, शान्तिनगर र राजपुर गाउंपालिका प्रमुख र उपप्रमुखम जितेको छ । माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउंपालिकामा अध्यक्ष जितेको छ । कांग्रेसले बंगलाचुली र गढवा गाउापालिकामा उपाध्यक्ष जितेको छ । एमालेले राप्ती गाउंपालिकामा उपाध्यक्ष जितेको छ । 


प्रतिक्रिया