नागरिकतामा नाम र थरमा अपमानजनक शव्द प्रयोग नगर्न गृहको निर्देशन

रेडियो कान्तिपुर संवाददाता

श्रावण २३, २०७९ | काठमाडौं

गृह मन्त्रालयले नागरिकता प्रमाणपत्र दिंदा व्यक्तिको नाम र थरमा अपमानजनक शव्द प्रयोग नगर्न निर्देशन दिएको छ । नागरिकतामा दलित समुदायका व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने गरि नाम लेखिएको समाचार प्रकाशित भएपछि त्यसको विरोध भइरहँदा गृहमन्त्रालयले अपमानजनक शव्द प्रयोग गरी नागरिकता प्रमाणपत्र नदिन निर्देशन जारी गरेको हो । त्यस्तै, मन्त्रालयले अपमानजनक शव्द राखेर दिइएको नागरिकता प्रमाणपत्र प्रक्रिया अनुसार सच्याउन मिल्ने व्यवस्था गरिएको जनाएको छ । मन्त्रालयद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ–“अपमानजनक शव्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्वन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन अनुरोध छ ।” 


यसअघि सांसदहरुले दलित समुदायका व्यक्तिको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका थिए । माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै दलित समुदायका व्यक्तिलाई नागरिकता दिँदा अपमानजनक नाम राखिएको भन्दै आपत्ति जनाउनुभयो । दूरदराजका दलित समुदायका व्यक्तिको नाम तत्कालीन प्रशासनले बिगारिदिएको भन्दै उहाँले उनीहरूको नाम सच्याउन माग गर्नुभयो । कान्तिपुर दैनिकले केही दिनअघि दैलेख र बाग्लुङमा दलित समुदायको नागरिकतामा अपमानजनक शव्द राखिएको प्रमाणसहितको समाचार प्रकाशन गरेको थियो । 


प्रतिक्रिया