नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2022/news/charkilo1192020053141-1671508617.jpg&w=700&height=600)
पुस ५, २०७९ | चितवन
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिनदेखि नारायणगढ तर्फका चार वटा पुलहरु बनाउनका लागि दैनिक ४ घण्टा सडक बन्द गर्न लागिएको हो ।
बिहान ११ बजेदेखि चार घन्टा सो सडक बन्द रहने नारायणगढ मुग्लिन–नागढुंगा मुग्लिन सडक आयोजनाले जनाएको छ । एक महिनासम्म दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्ने आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो । पुल बनाउन पहाड काट्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।
बाटो बन्द गर्दा बिरामी बोकेका एम्बुलेन्स, दमकल, शब बहान, सुरक्षाकर्मीका गाडी र अत्यावश्यक सेवाका गाडीलाई अनुकूलता हेरेर सडक वारपार गराउने व्यवस्था मिलाइएको छ ।