राष्ट्रियसभाबाट अध्यादेश पारित हुनेमा आशंका

माघ २२, २०८१

गठबन्धन सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्न संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाल निर्णायक देखिएको छ । विपक्षी दलले समर्थन नगरेको अवस्थामा जसपा नेपालले सहयोग नगरेमा अध्यादेश पारित गर्ने बहुमत राष्ट्रियसभामा नपुग्ने अवस्था छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसद आवश्यक पर्छ । 

सत्तारुढ एमाले, नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र दुई मनोनित सदस्य समेत गरी २९ सांसद छन् । गठबन्धनलाई समर्थन गरेपनि सरकारमा सहभागी नभएको जसपा नेपालले मत नदिए राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने जोखिम छ । 

यसैबीच, जसपा नेपालले अध्यादेशको अध्ययन गर्न भन्दै पार्टीका सांसद राजकिशोर यादवको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले अध्यादेशका बारेमा विज्ञहरुसँग छलफल गरी आएको निर्णय प्रतिवेदनका रुपमा पार्टीमा पेश गर्ने यादवले बताउनुभयो । उहाँले रेडियो कान्तिपुरसँग कुरा गर्दै गुण र दोषका आधारमा अध्यादेशमाथि पार्टीले निर्णय गर्ने बताउनुभयो । 


प्रतिक्रिया