‘ सरकारको नेतृत्व हत्याउन माओवादी केन्द्र सफल ’
पुस १०, २०७९
आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पालना नभएको भन्दै साढे २ वर्षअघि नेकपा नेतृत्वको झण्डै दुई तिहाइको सरकारको बिकल्पमा बाम लोकतान्त्रिक गठबन्धन गरेर जनादेश नभएका काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यतिबेला जनादेश विपरीत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आलोपालोको दोस्रो कार्यकाल प्रधानमन्त्री दिएर आफू प्रधानमन्त्री बन्न सफल भएका छन् ।
अघिल्लो पटक एमालेसँगको पार्टी एकीकरण र सत्ता गठबन्धन तोडेका दाहाल यतिबेला काँग्रेस नेतृत्वको गठबन्धन तोड्दै नयाँ सत्ता समिकरणका लागि तयार भएका हुन् । राजनीति सरल रेखामा हिंड्दैन भन्नका लागि चुनाव अघि दाहालले दिने गरेको ‘काँग्रेस नेतृत्वको गठबन्धन आगामी ५ वर्षसम्म ढुक्कै चल्छ’ अभिव्यक्ति नै काफी छ । केही दिनअघिसम्म एमाले नेतृत्वको सत्तोसराप गरेर नथाक्ने दाहाल अहिले त्यही एमालेको ७८ सांसदको समर्थनमा प्रधानमन्त्री बन्न लागेका छन् । हुन त राजनीतिमा केही पनि असम्भव छैन, तर अहिले जुन जुन पार्टीको समर्थनमा दाहाल प्रधानमन्त्री बन्दैछन् त्यसको राजनीतिक धरातल त्यति बलियो छैन । एकअर्कालाई देखि नसहने मात्रै हैन विचार र सिद्धान्त नै छैन भन्ने शक्तिहरु पनि एकै ठाउँ उभिनु फगत संयोग मात्रै त हुनैसक्दैन ।
नेपालको राजनीतिमा जे जे हुन्छ अन्तिम समय र क्षणमै हुन्छ । पार्टी विभाजन गरेर निस्किएका दाहाललाई ओलीले सहजै प्रधानमन्त्रीमा स्वीकार्दैनन् भन्ने काँग्रेस नेतृत्वको बुझाइ नै गलत साबित हुन पुग्यो । एमालेले समर्थन नगर्ने हुनाले आफ्नो नेतृत्वको सरकारमा जसैगरी पनि बस्न बाध्य हुने सभापति देउवाको बुझाइकै कारण माओवादीलाई राष्ट्रपति पनि नदिने र पहिलो कार्यकाल सरकारको नेतृत्व पनि नदिने रणनीति काँग्रेसले अख्तियार गर्यो । अन्तिम समयमा माओवादी जसैगरी पनि मिल्न आइहाल्छ भन्ने काँग्रेस नेतृत्वको अति आत्मविश्वास नराम्ररी फेल खान पुग्यो । फलस्वरुप अघिल्लोपटक मतादेश नभए पनि सरकारको नेतृत्व गरेको काँग्रेस यसपटक संसदको पहिलो पार्टी हुँदा हुँदै प्रतिपक्षी कित्तामा पुगेको छ । भुईंको टिप्न खोज्दा पोल्टाको पोखिएको पनि पत्तै पाएन काँग्रेसले यसपटक ।
काँग्रेस नेतृत्वको गठबन्धन निर्माण हुँदा नै सरकार आलोपालो सञ्चालन गर्ने र चुनावपछि बन्ने सरकारको नेतृत्व आफूलाई दिने सहमति गरेका देउवा चुनावी परिणाम सार्वजनिक भएलगत्तै पछि हटेको भनेर दाहालले सङ्गिन आरोप लगाएका छन् । त्यसको खण्डन काँग्रेसले नगर्दा सन्देहको लाभ अझै माओवादी केन्द्रले पाएको छ ।
नेपाली राजनीतिको विद्रुप पक्ष के हो भने यहाँ सहमतिका अनेकन संस्करणहरु रचिन्छन् तर तिनको सफल कार्यान्वयन हुँदैनन् । र, सहमति देश र जनताको हितमा भन्दा पनि नेताका कुर्सी र कुर्सीमा बस्ने समय तोक्न मात्रै हुन्छ । अहिले भएको सहमति मुलुकको आवश्यक्ता, हित वा कल्याणका हेतु हा् कि सिंहदरबारमा एक थान तस्बिर टङ्ग्याउन वा तेस्रोपटक प्रधानमन्त्री बन्ने एक व्यक्तिको चाहनालाई पूर्णता दिन भन्ने त आगामी दिनमा थप प्रस्ट हुँदै जाने नै छ । अहिलेलाई भने नेपालको राजनीति भेउ पाउन थप कठिन बन्नेमा सन्देह छैन ।