लुम्बिनी प्रदेशका सांसद भन्छन्, ‘कानून निर्माणमा जोड दिनुपर्छ’

लुम्बिनी प्रदेश सभाको पहिलो बैठकको अध्यक्षता गर्ने प्रदेश सभाका जेष्ठ सदस्य डिल्लीराज भुसाल । तस्बिर: घनश्याम गौतम/रेडियो कान्तिपुर 

पुस १८, २०७९ | देउखुरी, दाङ

लुम्बिनी प्रदेश सभामा दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो दिन दुई बैठक बसेका छन् । सोमबारदेखि सुरु भएको अधिवेशनको पहिलो बैठकमा प्रदेश सभाको बैठक आहृवान सम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्रको जानकारी गराइएको थियो । 

बैठकमा बोल्दै प्रदेश प्रमुख शेचरनले प्रदेश सभाको पहिलो कार्यकालले लुम्बिनी प्रदेशमा सफलतापूर्वक धेरै काम गरेको बताउनुभयो । उहाँले सरकारले राजधानी व्यवस्थापन गरेदेखि विपन्न र असहाय जनताका लागि सरकारले दिने उपचार खर्च र राहतका विषय उल्लेख गर्दै सरकारका कामको प्रशंसा गर्दै अबको अधिवेशन पनि त्यही गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको थियो । 

सोमबार नै बसेको प्रदेश सभाको दोस्रो बैठकले ‘लुम्बिनी प्रदेश सभा नियमावली २०७९’ पारित गरेको छ । बैठकमा प्रदेश सभामा निर्वाचित भएका दलका सांसदले शुभकामना व्यक्त गर्दै अबको ५ वर्षको कार्यकाल पनि उत्कृष्ट बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । 

एमाले संसदीय दलका नेता लीला गिरीले प्रदेश सभाको पहिलो कार्यकाल बुटवलमा बितेको र त्यसमा संरचनाविहीन अवस्थाको प्रदेशलाई स्थापित गर्न स्थानीय संघसंस्थाले गरेको सहयोगको चर्चा गर्नुभयो । बुटवलका संघ संस्थाले आफ्नो कार्यालय र भवन सरकारलाई उपलब्ध गराएर संघीयता कार्यान्वयनका लागि गरेको सहयोग प्रदेश सभाले कहिल्यै भुल्न नहुने उहाँले बताउनुभयो ।

बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो कार्यकाल व्यवस्थापन र कानुन निर्माणमै सकिएको भन्दै दोस्रो कार्यकाल चुनौतीपूर्ण रहेको बताउनुभयो । माओवादी संसदीय दलका नेता जोखबहादुर महराले दोस्रो कार्यकालको प्रदेश सभा उच्च राजनीतिक संस्कारका साथ जनताका आशा, अपेक्षा पुरा गर्न सफल हुने विश्वास व्यक्त गर्नु भएको छ । 

प्रदेश सभामा राप्रपाका आशिषकुमार चौधरी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिर, नेकपा एकीकृतकी भगवती अधिकारी र राष्ट्रिय जनमोर्चाले तारा थापाले आफ्नो धारणा राख्नु भएको थियो । अधिकांश वक्ताको आगामी प्रदेश सभाको कार्यकालले प्रदेश सभाप्रतिको वितृष्णा अन्त्य गर्नेमा ध्यान पुग्नुपर्ने र कानून निर्माणमा जोड दिनुपर्ने बताएका थिए ।

 प्रदेश सभाको पहिलो बैठक र दोस्रो दुबै बैठक प्रदेश सभाका जेष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षतामा बसेको थियो । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र प्रदेश सभाका सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रदेश सभाको अबको बैठक माघ ३ गते बस्ने जेष्ठ सदस्य भुसालले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सभाका १० दलको सहभागिता रहेको छ । 


प्रतिक्रिया