राष्ट्रपतिका लागि पौडेलको पक्षमा सर्वसम्मतको प्रयास: प्रधानमन्त्री दाहाल

फाल्गुन १४, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिका लागि कंग्रेस उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा सर्वसम्मतको प्रयास भइरहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित सभालाई आज सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले ८ दल एकै स्थानमा भएकाले सर्वसम्मतिका लागि एमालेसँग सम्वाद हुने बताउनुभएको हो । 

उहाँका अनुसार, सहमतिका लागि फागुन २५ गतेसम्म नै प्रयास हुनेछ । राष्ट्रपतिको उम्मेदवारका लागि बनेको गठबन्धन नयाँ राजनीतिक यात्रा भएकाले स्थायित्व र विकासका निम्ति सहयोगी बन्ने प्रधानमन्त्री दाहालले बताउनुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले माओवादीको सशस्त्र द्धन्द्ध र जनआन्दोलनका शहिदलाई राष्ट्रिय शहिदका रुपमा घोषणा गर्ने तयारी गरेको बताउनुभयो । आफु पहिलो प्रधानमन्त्री भएका बेलादेखि नै सशस्त्र युद्धका शहिदलाई राष्ट्रिय शहिद घोषणा गर्ने योजना बनाएकाले अहिले पूर्णता दिन खोजेको उहाँको भनाई थियो ।

दाहालले आफ्नो वाँकी जीवन सुशासन, विकास र देशको समृद्धिको निम्ति खर्चने दोहोर्‍याउनुभयो । 


प्रतिक्रिया