लुम्बिनीमा मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसद्वारा दाबी पेस

चैत्र १२, २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई राजीनामाको दबाब दिन कांग्रेसले प्रदेश प्रमुख समक्ष मुख्मन्त्रीमा दाबी पेस गरेको छ । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जनमत, जसपा, लोसपासहित आठ पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्य मन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गर्नु भएको हो ।

माओवादीसहितका सरकार समर्थित दलहरु आजै समर्थन फिर्ता लिंदै मन्त्रीबाट हटेपछि चौधरीलाई मुख्यमन्त्री नियुक्तिको माग सहितको हस्ताक्षर लिएर प्रमुख समक्ष पुगेका थिए । मुख्यमन्त्री लिला गिरीलाई आफुहरुले राजिनामा गर्न आग्रह गरेको र राजिनामा दिने विश्वासका साथ नयाँ मुख्यमन्त्रीमा दावी गरिएको माओवादीका प्रदेश अध्यक्ष एवं पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनु भयो । मुख्यमन्त्री गिरीले राजिनामा दिएमा सरकार गठन प्रकृया अघि बढ्ने र राजिनामा नदिएको अवस्थामा विश्वासको मत लिनुपर्ने अध्यक्ष बरालले बताउनु भयो । 

संघीय सरकारमा एमाले र माओवादीको गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो । कांग्रेस संसदीय दलका नेता चौधरीले ५४ सांसदको समर्थन आफूसंग रहेको दाबी गर्दै मुख्यमन्त्री नियुक्त हुन निवेदन पेस गर्नु भएको छ । चौधरीलाई कांग्रेस, माओवादी दलका नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी, लोसपाका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका नेता चन्द्रकेश गुप्ता, जसपाका नेता भण्डारीलाल अहिर, एकिकृत समाजवादीका नेता भगवती अधिकारी, जनमोर्चाका नेता तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन आग्रह गर्नु भएको छ ।

 मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन पार्टीहरुले फिर्ता लिएपनि संवैधानिक व्यवस्था अनुसार उहाँलाई ३० दिनभित्र प्रदेश संसद्मा बहुमत सिद्ध गर्ने समय सीमा रहन्छ । मुख्यमन्त्रीगिरीले ३० दिनभित्र प्रदेश संसद्मा बहुमत कायम रहेको सिद्ध गर्न नसके स्वत:पदमुक्त हुने व्यवस्था छ । मुख्यमन्त्री गिरीले राजीनामा गरेमा पनि अर्को मुख्यमन्त्री चयन गर्न मिल्नेछ ।


प्रतिक्रिया