सुपर–थ्री को अन्तिम खेलमा नेपाल पराजित

जेष्ठ ६, २०८२ | काठमाडौं
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाललाई घरेलु टोली थाइल्यान्डले ७८ रनले पराजित गरेको छ ।
नेपाल र थाइल्यान्डले सुपर–३ को शीर्ष दुईमा रहदै विश्व छनोटमा स्थान पक्का गरिसकेका थिए । आजको जितसँगै थाइल्यान्ड एसिया छनोटको विजेता बनेको छ ।
थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन बनायो । नेपालका लागि कविता कुँवरले २४ रन, राजमति ऐरीले नटआउट २० रन र रुबिना क्षेत्रीले १२ रन बनाए ।
अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाइल्यान्डकी ओनिचाले ह्याट्रिकसहित ४ विकेट लिइन् । उनले १९औं ओभरमा रोमा थापा, इश्वरी विष्ट र रिया शर्मालाई लगातार आउट गरेर ह्याट्रिक पूरा गरिन् ।
यसअघि हिजो सुपर–३ को खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो । अब नेपालले यसै वर्ष विश्व छनोट खेल्दैछ । नेपालले पहिलो पटक विश्व छनोटमा स्थान पक्का गरेको हो ।
विश्व छनोटमा १० टोली भिड्नेछन् । १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।