बुटवलको सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

फाल्गुन ५, २०८० | बुटवल

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक पक्राउ परेका छन् । 

बचतकर्ताको एक अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा सो सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका दुबैले गितेन्द्रबाबु राई नेतृत्वको सहकारीमा मार्पmत १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । 

बुटवलस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले लुम्बिनी प्रदेशको सहकारी रजिष्टार कार्यालयको प्रतिवेदन र बचतकर्ताहरुको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताउनुभयो । 

‘गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौं,’ डीएसपी पण्डितले भन्नुभयो, ‘संकलित रकमको विवरण, ऋण लगानीको अवस्था र रकम अप्रचलनको अवस्थाको अध्ययन हुँदैछ ।’ 

दुबै जनालाई शुक्रबार नै अदालतबाट म्याद थप गराएर अनुसन्धान भईरहेको डीएसपी पण्डितले जानकारी दिनुभयो । संस्थाका पूर्व अध्यक्ष एवं अहिलेका संरक्षक जीबी राई भने फरार छन् ।

सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न ५ कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रुपैयाँ रकम उपलब्ध गराएको देखिएको छ । सो रकम कागजी प्रक्रिया पूरा नगरी ऋणको रुपमा उपलब्ध गराएको बचतकर्ताको आशंका छ । 

सुप्रिम सहकारीबाट विभिन्न मितिमा राई अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रवि लामिछाने तत्कालीन प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न ५ वटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८ सय ६०, जीबी ग्रुप एण्ड कम्पनी लिमिटेडमा विभिन्न ७ वटा मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५ सय २० रुपैयाँ, स्प्रीङ उड रियल स्टेड हाउजिङ प्रालिमा ३ वटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १ सय ८३ रुपैयाँ रकम लगेको देखिएको छ ।

त्यस्तै, राई सञ्चालक रहेको नेचर नेष्ट प्रालिमा विभिन्न ३ वटा मितिमा २ करोड ८९ लाख ७१ हजार ८ सय ८५ रुपैयाँ र जीबी राईको नाममा ३ वटा मितिमा ६ करोड २० लाख ८८ हजार ४ सय ८९ रुपैयाँ गरी ७८ करोड ५० लाख ७६ हजार रुपैयाँ बढी रकम लगेको लुम्बिनी प्रदेश सहकारी रजिष्टारको प्रतिवेदनमा देखिएको छ । 

विभिन्न ५ वटा कम्पनीमा लगेको ऋण बापत राईले सहकारीलाई व्याज मात्रै ९ करोड १९ लाख १ सय रुपैयाँ बुझाउनु पर्ने देखिन्छ । साँवा र व्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७ सय ६५ रुपैयाँ लिएर राई झण्डै एक वर्षदेखि सम्पर्कविहीन छन् । 

त्यस्तै, बुटवलका व्यवस्थापक सागर केसी पनि पछिल्लो ६ महिनापछि सम्पर्कविहीन भएका छन् । प्रहरीले राई, केसी सहित सञ्चालकमा रहेका अन्य ७ जनालाई पनि खोजी गरिरहेको छ ।

सहकारीका सञ्चालक र अन्य ऋणीहरुले विभिन्न समयमा लिएको ५२ जना ऋणीहरुलाई दिएको २४ करोड ३ लाख ९३ हजार ७ सय २५ रुपैयाँ रकम पनि सहकारीले ऋणीबाट असुल गर्न सकेको छैन । 

पक्राउ परेका अध्यक्ष गुरुङले सहकारीका व्यवस्थापक सागर केसी सम्पर्कविहीन भएपछि सहकारीको कागजपत्र र सफ्टवेयर पनि नियन्त्रणमा लिएकाले ऋण असुलीको रकम संकलन गर्न नसकिएको बताउने गरेका थिए । 

प्रहरी सोधपुछको क्रममा आफू पनि सहकारीको पूर्व अध्यक्ष राई, व्यवस्थापक केसी लगायतको समूहबाट ठगिएको बयान दिएको प्रहरी स्रोतको दाबी छ । 

सहकारीले बुटवल र भैरहवा आसपासका ऋणीहरुबाट मात्रै ३ करोड ९८ लाख १९ हजार ७ सय ७५ रुपैयाँ ब्याज मात्र असुल गर्नुपर्ने प्रतिवेदनमा देखिएको छ ।


प्रतिक्रिया