प्रधानमन्त्री दाहालले लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै

फाल्गुन १९, २०८० | बुटवल

प्रधानमन्त्री पुष्पकमल दाहालले आज (शनिबार) लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने हुनु भएको छ । त्यसअघि उहाँ शनिबार नै लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठकमा पनि सहभागी हुने कार्यक्रम छ । 

लुम्बिनीको कार्यक्रम अघि प्रधानमन्त्री दाहाल बाग्लुङको पञ्चकोटमा भईरहेको महायज्ञमा पनि पुग्ने कायक्रम छ । प्रधानमन्त्री दाहालले लुम्बिनी प्रदेशको विकासको सम्भावना, अहिलेसम्म भएका प्रयास र गर्नुपर्ने योजनाका विषयमा प्रदेश सभामा सम्बोधन गर्न लाग्नु भएको हो । 

त्यस्तै लुम्बिनी प्रदेश सरकारको गौरवको अयोजना अन्तर्गत निर्माण भईरहेको लुम्बिनी प्रादेशिक अस्पताल, त्यसको विशिष्टीकृत सेवा प्रवाह र प्रदेश सरकारले अघि सारेको आर्थिक विकास कार्यक्रमको विषयमा पनि प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने उहाँको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री दाहालले लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा यही फागुन २८ र २९ गते हुन लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लोरेट एन्ड लिडर्स शिखर सम्मेलन’को सफलताको कामना गर्नुहुनेछ । 

प्रदेश सभा बैठकलाई सम्बोधन गरिदिनका लागि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीमगर सहितको टोलीले एकसाता अघि काठमाडौं पुगेर प्रधानमन्त्री दाहाल समक्ष आग्रह गर्नु भएको थियो । 

सोही निमन्त्रणलाई स्वीकार गरेर दाहालले शनिबार प्रदेश सभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो । 

यस्तै, प्रधानमन्त्री दाहालको अध्यक्षता लुम्बिनी बौद्ध विश्वविद्यालयले १५ औं सभाको बैठक शनिबार लुम्बिनीमा बस्दैछ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले बैठक लगत्तै लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको पनि उद्घाटन गर्नुहुनेछ । 

झण्डै २२ करोड रुपैयाा लागतमा निर्माण भएको भवनमा उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र रहेको छ । 

भवनमा सुविधा सम्पन्न २ सय ५० भन्दा बढी क्षमताको सभाहल पनि रहेको विश्वविद्यालय सभाका सदस्य सचिव एवं रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिनुभयो । 

रजिष्ट्रार आचार्यले सभाको बैठकमा वार्षिक नीति कार्यक्रम, बजेट तथा नियम कानून निर्माणका प्रस्तावहरुमा छलफल हुने बताउनुभयो । 

सभाको बैठकमा अन्य विश्वविद्यालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयका सचिव, लुम्बिनी प्रदेशका प्रमुख सचिव, विकास कोषका उपाध्याक्ष, सातै प्रदेशबाट नियुक्त भएका सदस्यहरु गरी ४३ जनाको सहभागिता रहने विश्वविद्यालयले जनाएको छ ।


प्रतिक्रिया