काँग्रेससँगको गठबन्धन छाड्दै प्रधानमन्त्री दाहालद्धारा नयाँ सत्ता समीकरण

फाल्गुन २१, २०८० | काठमाडौं

संसदको पहिलो दल नेपाली काँग्रेस समेत सम्मिलित सत्तारुढ गठबन्धन भत्किएपछि नयाँ सत्ता समीकरण बनेको छ ।

मन्त्रीमण्डल पुर्नगठन लगायत विषयमा उत्पन्न मतभेदका कारण गठबन्धन भत्किएको हो । नयाँ समीकरण अनुसार, प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई निरन्तरता दिँदै तत्कालका लागि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएका छन् ।

राष्ट्रपति निर्वाचनको सेरोफेरोमा अघिल्लो बर्ष फागुन १२ गते बनेको गठबन्धन परिवर्तन गर्दै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएका हुन् । मन्त्रीमण्डल पुर्नगठन र राष्ट्रियसभा अध्यक्षको बिषयमा कंग्रेससँग सहमति हुन नसकेपछि प्रधानमन्त्री दाहालले नयाँ समीकरण बनाउनुभएको हो ।

एमालेको सचिवालय बैठकले गठबन्धन फेरिएको अवस्थामा सरकारमा जाने निर्णय गरेको थियो । रास्वपाले नयाँ समीकरणमा सहभागी हुने निर्णय गर्दै आगामी कदमका लागि पार्टी सभापति रवि लामिछानेलाई जिम्मेवारी दिएको छ ।

यसैबीच, मन्त्रीमण्डल पुर्नगठनको पहिलो चरणमा दलहरुले दोस्रो पुस्ताका नेताहरुलाई सरकारमा पठाएका छन् । माओवादी केन्द्रले हितवहादुर तामाङ, एमालेले पदम गिरी र रास्वपाले डीपी अर्याललाई मन्त्री बनाएका हुन् ।

मन्त्रालयको भागबन्डा नमिलेकाले अहिलेलाई तत्कालका लागि तीन जना मन्त्री मात्र नियुक्त गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । तीनै जना मन्त्रीको मन्त्रालय नतोकी आजै शपथग्रहण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ मन्त्रीहरूको शपथ आज नै गराइदिन आग्रह गर्नुुभएको थियो ।

नयाँ गठबन्धन बनेर मन्त्रीहरु नियुक्त भएपछि काँग्रेसऔपचारिक रुपमा सरकारबाट बाहिरिएको छ । अहिलेसम्मको घटनाक्रम हेर्दा काँग्रेस, राप्रपा र नेपाल मजदुर किसान पार्टी प्रतिपक्षी बनेका भएका छन् । 


प्रतिक्रिया