मीनबहादुरले पारदर्शी र खुला दिलले गरेको दान स्वीकार गरेका हौंः एमाले

आश्विन ३०, २०८१ | काठमाडौं

एमालेले पार्टी केन्द्रीय कार्यालय भवनका लागि व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले पारदर्शी र खुला दिलले दान गरेकाले आफ्नो दलले स्वीकार गरेको जनाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गरी पार्टी भवनका लागि प्राप्त भएको जग्गामा कुनै सौदाबाजी र लेनादेना नभएको बताउँदै सो विषयलाई लिएर भएका टीकाटिप्पणी खेदजनक भएको बताउनुभएको हो ।

गौतमले गुरुङका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा गुरुङ आफैंले सामना गर्ने उल्लेख गर्नुभएको छ । एमालेले विगतमा अस्तव्यस्त रहेको केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्नेक्रममा रहेको सन्दर्भमा गुरुङ दम्पतीले दान दिएको जनाएको छ ।

यसैबीच, सत्तारुढ दल नेपाली काँग्रेसले भने एमाले पार्टी कार्यालय निर्माणका लागि जग्गा र त्यसमा बनाइदिने भनिएको भवन दान लिने निर्णयबारे पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नुपर्ने माग गरेको छ ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भाटभटेनीका सञ्चालक व्यापारी मीनबहादुर गुरुङले दान दिएर बनाइदिन लागेको भवनबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने बताउनुभएको हो । एमाले केन्द्रीय कार्यालय निर्माण गरेर व्यापारीले दानमा दिने विषयमा विवादका साथै गम्भीर प्रश्न उठेकाले प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुपर्ने महान्त्री शर्माको भनाइ छ ।  


प्रतिक्रिया