सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिबाट दुई सांसदको दाबी पेस

वैशाख २, २०८१ | काठमाडौं

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले दाबी पेस गरेका छन् ।

 पार्टीभित्रको विवाद चर्किदै जाँदा नागरिक उन्मुक्तिका सांसदहरू कैलाश चौधरी र लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो । उहाँहरुले फरक गठबन्धनको समर्थन रहेको दाबीसहित मुख्यमन्त्रीमा दावी पेश गरेको हाम्रा सहकर्मीले जनाएका छन् । 

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ निकट कैलाश चौधरीले केन्द्रिय सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, एमाले तथा आफ्नै पार्टीका केही सांसदको समर्थन रहेको दावी गर्नुभएको हो । 

पार्टीका संरक्षक रेशम चौधरी निकट सांसद लक्ष्मणकिशोरी चौधरीले भने काँग्रेस, एकीकृत समाजवादी र पार्टीका केही सांसदको समर्थन रहेको दाबी गर्नुभएको हो । एकै दलका दुई सांसदले मुख्यमन्त्री दावी गरेपछि नयाँ विवाद सुरु भएको छ । 

सुदूरपश्चिम प्रदेशसभामा अहिले नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ६ र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यस्तै काँग्रेसको १८ र राप्रपाका १ सांसद छन् । त्यस्तै तारा जोशी स्वतन्त्र सांसद छन् ।  


प्रतिक्रिया