सहकारीहरुबाट गोर्खा मिडियामा प्रवाह गरिएको रकमबारे संसदीय छानविन विशेष समितिको चासो

असार १२, २०८१ | काठमाडौं

सहकारीको बचत रकम अपचलन भएको विषयमा छानविन गर्न गठित संसदीय छानबिन विशेष समितिले सहकारीहरुबाट गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको रकमबारे चासो देखाएको छ ।

 समितिले सहकारी ठगीको आरोप लागेका जीबी राई र उनका साझेदार रवि लामिछानेले चलाएको गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह गरेका भनिएका ९ वटा सहकारीको कागजात झिकाउने निर्णय गरेको छ । समिति सभापति सुर्यवहादुर थापाले विभिन्न ९ वटा सहकारीको कागजात झिकाउने निर्णय भएको जानकारी दिनुभयो ।

समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सन्दर्भमा सम्बन्धीत निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको हो । कार्यादेशको अनुसूचि दुईमा चितवनको सहारा, बुटवलको सुप्रिम, पोखराको सुर्यदर्शन तथा काठमाडौंको स्वर्णलक्ष्मीसहितका सहकारी छन् । समितिले ती सहकारीका लेखा परीक्षण प्रतिवेदनसहितका विवरण माग गरेको सभापति थापाले जानकारी दिनुभयो ।

गोर्खा मिडियाका तत्कालिन प्रवन्ध निर्देशक एवम् वर्तमान गृहमन्त्री लामिछानेलाई छानविनका क्रममा बयानमा बोलाउने वा नबोलाउने बिषयमा समितिभित्र विवाद रहेको बताइन्छ । त्यस्तै, छानविन समितिले काम अघि बढाइरहँदा समितिको क्षेत्राधिकारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले विवाद झिकेको आरोप समेत लाग्दै आएको छ । तर सभापति थापाले भने छानविनका क्रममा कसैलाई ढाकछोप गर्न र फसाउने नियत नराख्ने दावी गर्नुभयो ।

यसअघि सहकारी सञ्चालनको कानूनी पाटो लगायत बिषयमा सम्वन्धित व्यक्ति र विज्ञसँग परामर्श गरेको विशेष समितिले बचत रकम अपचलन गरेका सहकारीको कागजात मगाएर छानविन अघि बढाउने निर्णय गरेको हो ।  

अनुसूची २ मा रहेका ९ वटा सहकारीका नाम

प्रतिक्रिया