पाँच कम्पनी खडा गरि झन्डै ३२ सय केजी सुन नेपाल भित्रिएको सिआइबीको निष्कर्श

असार १७, २०८१ | काठमाडौं

६० किलो अवैध सुन तस्करी प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ ।

 केन्द्रीय अनसन्धान ब्यूरो सिआइबीले आज पत्रकार सम्मेलन गर्दै सुन तस्करीमा संलग्न भएका १४ नेपालीसहित ४ भारतीय र २ जना चिनीयाँ नागरिकलाई पक्राउ गरेको जानकारी दिएको छ ।

 यसैबीच, तस्करीमा संलग्न समूहले ३ हजार १ सय ९४ किलो सुन तस्करी गरेको पाइएको सिआइबीको अनुसन्धानले देखाएको छ । पक्राउ परेका उनीहरुले ब्रेकसूमा लुकाएर ३ सय ६२ किलो ७ सय ७८ ग्राम, विभिन्न इलेक्ट्रोनिक सामानमा २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम सुन तस्करी भएको सीआईबीका डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

सीआईबीका अनुसार तस्करी भएको सो सुनको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँ भन्दा बढी छ । तस्करीको सुनको कारोबार “सजिलो पे सर्भिसेज” र “पे वेल नेपाल” तथा क्रिप्टो करेन्सीमार्फत भुक्तानी हुने गरेको समेत पाइएको छ । 

 अनलाईन भुक्तानीका लागि आवश्यक पर्ने ई मनिको पर्याप्त मौज्जाद नराखि एजेन्टलाई रकम भुक्तानी गरिएको पाइएको सिआइबीले जनाएको छ । नेपाल राष्ट्र बैंकलाई दिनुपर्ने विवरण समेत गलत दिएको पाइएको ब्यूरोका डिएसपी तिवारीले जानकारी दिनुभयो ।


यसैबीच, सिआइबीले सुन तस्करी प्रकरणमा यसअघि थुनामा रहेका समेत गरी २४ जना, पछिल्लो पटक पक्राउ परेका २० जना र फरार २६ जनाविरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड रुपैया भन्दा बढीको विगो दावी गर्दै सरकारी वकिलको कार्यालयमा मुद्धा पेश गरेको छ ।

यसैबीच, ६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको भने संलग्नता नरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्रेक–सू लगायतका विभिन्न सामानमा लुकाएर ल्याउने क्रममा गत वर्ष साउन २ गते प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो सुन बरामद गरेको थियो । सीआईबीको अनुसन्धानअनुसार विभिन्न पाँचवटा कम्पनीका नामबाट तस्करीको सुन भित्र्याइएको थियो । 


प्रतिक्रिया