प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिनुहुँदै

श्रावण ६, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । गत असार ३० गते प्रधानमन्त्री नियुक्त हुनु भएका ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिन लाग्नुभएको हो । 

प्रधानमन्त्री ओलीको विश्वासको मत प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक दिउँसो एक बजेटका लागि बोलाइएको छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

संसदको पहिलो दल नेपाली कांग्रेससँग सत्ता साझेदारी गरेका प्रधानमन्त्री ओलीले संसदमा २ तिहाई मत प्राप्त गर्नेगरी अन्य दलसँग पनि छलफल गर्नुभएको छ । एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ ।

एमालेले अन्य राजनीतिक दल र स्वतन्त्र सांसदलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ । एमाले सहित कांग्रेस, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सरकारमा सहभागी छन् । 

प्रधानमन्त्री ओलीको पक्षमा अहिलेसम्म कांग्रेसका ८८, नेकपा एमालेका ७८, जनता समाजवादी पार्टी जसपाका ७ र लोसपाका ४ सांसद छन् । प्रतिनिधि सभामा विश्वासको मत लिनुअघि सत्ता बाहिर रहेका दलसँग पनि अनौपचारिक छलफल हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । 

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा उभिने भएका छन् । 

प्रतिनिधि सभामा माओवादी केन्द्रको ३२, रास्वपा २१, राप्रपाका १४ र एकीकृत समाजवादीका १० तथा राष्ट्रिय जनमोर्चा र आम जनता पार्टी एक-एक गरी जम्मा ७९ मत विपक्षमा छन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ मत आवश्यक पर्छ ।


प्रतिक्रिया