बाग्मती र लुम्बिनीमा नयाँ सरकार गठन हुँदै

श्रावण ७, २०८१ | मकवानपुर

बाग्मती र लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । बाग्मती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएसँगै दुबै प्रदेशमा कांग्रेस र एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो । 

गत असार १७ मा केन्द्रमा कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनेसँगै अल्पमतमा परेका बाग्मती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले हिजो राजीनामा दिएका थिए । योसँगै निरन्तर सत्तामा रहेको माओवादी केन्द्र दुबै प्रदेशमा विपक्षमा पुगेको छ ।

केन्द्रको भागबन्डा अनुसार बाग्मतीमा नेपाली कांग्रेस र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने भएको हो । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो राजीनामा दिनु भएको थियो । 

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले भोलि मंगलबार अपराह्न ५ बजेभित्र सरकार गठनका लागि आह्वान गर्नु भएको थियो । संघीयता लागू भएयता बाग्मतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार गठन हुन लागेको हो । 

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा बाग्मतीमा एमाले सहितको सरकार गठन हुने भएको छ । एमालेको समर्थनमा लामाले आज १० बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिनुभयो । 

लामालाई प्रदेश सभाको पहिलो दल कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन छ । लामा २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा नुवाकोट २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

यसैबीच, लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आज साँझ साढे ६ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नु भएको थियो । 

कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता गिरीले आज प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै हुनुहुन्छ । दिउँसो १ बजे मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागिएको एमालेकी सचेतक रेखा कुमारी शर्माले जानकारी दिनुभयो । गिरी दोस्रो पटक मुख्यमन्त्री बन्न लाग्नुभएको हो । 

यसअघि २०७९ पुस २७ गते पहिलोपटक मुख्यमन्त्री बन्नु भएका गिरी पाँच महिनापछि सरकारबाट बाहिरिनुभएको थियो । कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । गिरीलाई कांग्रेसका २७ र एमालेका २९ गरी ५६ सांसदको समर्थन छ । 

गत चैत २३ मा एमालेसहित एक स्वतन्त्र र पाँच दलको समर्थनमा महरा मुख्यमन्त्री बन्नु भएको थियो । तर, केन्द्रमा गठबन्धन फेरिएसँगै एमालेका पाँच मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नु भएको थियो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन् ।


प्रतिक्रिया