बाग्मतीमा मुख्यमन्त्रीको दाबी गर्ने समय सरेको सर्‍यै

श्रावण ८, २०८१ | मकवानपुर

बाग्मती प्रदेशमा कांग्रेस-एमालेभित्र मन्त्री बन्ने आकांक्षीको विषयलाई लिएर आन्तरिक किचलो बढ्दा मुख्यमन्त्रीको दाबी गर्ने समय फेरि सकेको छ । प्रदेश प्रमुख यादवप्रसाद शर्माले आइतबार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको थियो । 

मुख्यमन्त्रीमा दाबी पेशका लागि तोकिएको समयसीमा आज मंगलबार साँझ ५ बजेसम्म रहेको छ । यो बीचमा दुई दलले मुख्यमन्त्रीमा दाबी गर्ने समय चार पटक सारिसकेका छन् । 

कांग्रेस-एमाले ६४ सांसदको हस्ताक्षरसहित सोमबार विहान १० बजे प्रदेश प्रमुखकोमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई मुख्यमन्त्री दाबी गर्न जाने भनिएको थियो । सो समयमा आन्तरिक तयारीका लागि एमाले संसदीय दलका नेता जग्गनाथ थपलिया काठमाडौं हिँडेपछि पुनः दिउँसो ४ बजेका लागि सारिएको थियो । सो समयमा पनि थपलिया हेटौंडा नफर्किएपछि दुबै दलको सहमतिमा मंगलबार बिहान साढे १० बजेका लागि सारिएको थियो । 

यसअवधिमा पनि दुबै दलका नेताबीच मन्त्रालय भागबण्डालाई अन्तिम टुंगो लगाउन बाँकी भएपछि आजै दिउँसो १२ः३० बजेका लागि दाबी गर्न जाने समय सारिएको हो । स्रोतका अनुसार एमालेले दाबी गर्न जाने विषयमा कुनै पनि बेला सूचना आउन सक्ने भन्दै तयारी अवस्थामा रहन सांसदहरुलाई भनेको छ । ‘अब एसएमएस नगर्ने सामाजिक सञ्जालको समूहमा म्यासेज हाल्ने भनिएको छ’, एमाले संसदीय दलका एक कर्मचारीले भने ।

कांग्रेसमा मन्त्री बन्ने दौडमा रहेका सांसद मात्र हेटौंडामा भएका कारण औपचारिक जानकारी कसैलाई पनि नगराइने बुझिएको छ । ‘केही सहमति बाँकी भएर हो’, कांग्रेस सांसद छिरिङ दार्जे लामाले भननुभयो, ‘दलको नेताहरुले अन्तिमरुपमा दिएपछि दाबी प्रक्रिया अगाडि बढ्छ ।’

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । केन्द्रीय समीकरण अनुसार वाग्मतीमा नेकपा एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।


प्रतिक्रिया