लीलादेवी गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव

श्रावण १०, २०८१ | काठमाडौं

नेपालको प्रशासनिक इतिहासमा लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव बन्नुभएको छ ।

निजामति सेवामा प्रवेश गरेको झन्डै ३० वर्षपछि गड्तौलाले मुख्यसचिव बन्ने मौका पाउनुभएको हो ।

संघीय तहका ५० हजारभन्दा बढी निजामति कर्मचारीको नेतृत्व गर्दै प्रशासनिक सेवालाई अघि बढाउने जिम्मेवारी गड्तौलाको काँधमा आएको छ । सरकारले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो ।

यसअघि गड्तौलालाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । मुख्य सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासकीय प्रमुखको रुपमा कार्य सम्पादन गर्ने, मन्त्रालयका सचिव तथा विशिष्ट श्रेणीका अधिकृतको कार्य सम्पादन सुपरिवेक्षण गर्ने र आवश्यक निर्देशन दिने लगायत जिम्मेवारी तोकिएको छ ।

शासकीय सुधारलाई अभिन्न अङ्गको रुपमा कार्यान्वयन गर्न वा गराउन केन्द्रीय निकायबीच समन्वय गर्ने जिम्मेवारी पनि मुख्य सचिवकै हुन्छ । त्यस्तै मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्ने गराउने र कार्यान्वयनको सुपरिवेक्षण जिम्मेवारी दिइएको छ ।

उमेर हदका कारण आगामी भदौ १५ गतेबाट सेवा निवृत्त हुने भएकाले गड्तौलाले झन्डै ३५ दिन मुख्यसचिवको रुपमा काम गर्नुहुनेछ ।

२०२३ साल भदौ १५ मा ते¥हथुममा जन्मिएकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा गड्तौला न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बन्नुभएको थियो ।  


प्रतिक्रिया