सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहद्वारा दाबी पेश

श्रावण २०, २०८१ | धनगढी

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । कांग्रेसका नेता शाहले मुख्यमन्त्रीका लागि नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँ समक्ष आइतबार दिउँसो दाबी पेश गर्नु भएको हो । 

आइतबार बिहान बसेको दलको बैठकले पार्टी सभापतिको निर्देशनमा शाहलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको थियो । यसअघि एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको थियो । 

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय दिनु भएको थियो । आइतबार नै शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी भईरहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । 

केन्द्रीय सत्ता समीकरण अनुसार सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेसको भागमा परेको थियो । कुल ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्य संख्या आवश्यक हुन्छ । प्रदेशमा कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । 

यस्तै, नागरिक उन्मुक्ति पार्टी समेतले कांग्रेस नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने भएको छ । प्रदेश सभामा माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन् । 

शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धनमा १४ महिना मुख्यमन्त्री बन्नु भएको थियो । गठबन्धन फेरबदल भएर समर्थक दलहरु सरकारबाट बाहिरिएपछि २०७९ चैत्र २२ गते शाहले पदबाट राजीनामा दिनु भएको थियो । 


प्रतिक्रिया