२०८४ साल मंसिरसम्मै अहिलेको समीकरण कायम रहने प्रधानमन्त्री ओलीको दाबी
मंसिर ७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ साल मंसिरसम्म अहिलेको समीकरण कायम रहने बताउनु भएको छ । काठमाडौंको दरबारमार्गमा भएको एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वर्तमान समीकरणको सरकार २०८४ सम्म जाने दाबी गर्नु भएको हो । दुई ठूला प्रतिष्पर्धी दल किलेर वर्तमान सरकार बनेपनि देशको परिस्थितिका कारण एकता कायम रहने उहाँको भनाई थियो ।
यही मंसिर १७ गतेबाट हुने चीन भ्रमण अत्यन्तै सफल हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । देशको हितका लागि भ्रमण गर्न लागेको उहाँको भनाई थियो ।
प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको भन्दै आपत्ति जनउनुभयो । कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिनुभयो । देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरु भएको उहाँको भनाई थियो ।
यसैबीच प्रधानमन्त्री ओलीले ठग र अपराधमा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दृष्टान्त प्रस्तुत गर्नुभयो । सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो । सरकारले गठी र अपराध गर्नेहरुलाई नसहने उहाँको चेतावनी थियो ।