भागबन्डामा सहमति भएपछि एमाले गण्डकी प्रदेश सरकारमा सहभागी

भाद्र १७, २०८१ | पोखरा

पूरा समाचार

मन्त्रालय भागबन्डामा सहमति भएपछि एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको छ । गठबन्धनमा भएको सहमति अनुसार एमालेले ४ मन्त्रालय पाएको छ ।

त्यसपछि पूर्वी नवलपरासीवाट प्रदेशसभा सदस्य रहेकी पद्मा जीसी श्रेष्ठको नेतृत्वमा एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको हो । जीसी सहित ४ मन्त्रीले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसँग शपथ लिनुभएको छ ।

जीसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउँदा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय प्रकाशबहादुर केसीको भागमा परेको छ । सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गर्नुभएको छ । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री हुनुभएको छ । गण्डकीमा भागबन्डा मिलाउन दुई मन्त्रालय फुटाएर ७ बाट ९ पु¥याइएको थियो ।

राजिव गुरुङको राजिनामा

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री राजिव गुरुङले पदबाट राजीनामा दिनुभएको छ । 

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज एमालेलाई सामेल गराएर प्रदेश मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर गर्दा असन्तुष्ट बनेका गुरुङले मन्त्री पदबाटै राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएको उहाँले जानकारी दिनुभयो । मन्त्री गुरुङले प्रदेशलाई वन तथा वातावरणमा पर्याप्त अधिकार नभएकाले आफू सो मन्त्रालयको जिम्मेवारीमा नरहने बताउनुभयो । मन्त्रिपरिषद् विस्तार हुँदा आज मुख्यमन्त्री पाण्डेले गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।

यसअघि गुरुङ भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थयो । कांग्रेसबाट मुख्यमन्त्री रहेका पाण्डेले विगतमा असहज परिस्थितिमा साथ दिएको भन्दै गुरुङलाई समेट्नकै लागि मन्त्रालय फुटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । 


प्रतिक्रिया