तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु
पुस २३, २०८१
चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गे काउन्टीमा आज बिहान गएको भूकम्पमा परी अन्य १ सय ३० जना घाइते भएका छन् । सो भूकम्पको धक्का नेपाल, भारत, भुटान, बंगलादेश लगायत देशमा समेत महसुस गरिएको थियो ।
चिनियाँ अधिकारीका अनुसार दिङ्गे काउन्टीमा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले सिजाङ क्षेत्रमा गएको भुकम्पमा परेकाको ज्यान जोगाउन र हताहती कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिनु भएको छ । सीले घाइतेहरुको खोजी, उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न आग्रह समेत गर्नुभएको छ ।
भूकम्पको अनुगमन र प्रारम्भिक चेतावनीलाई सुदृढ गर्न, विपद् राहत सामग्री तुरुन्तै वितरण गर्न समेत चिनियाँ राष्ट्रपति सीले सम्वन्धि अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।