नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको विषयः गम्भीरतापूर्वक लिएको गृहमन्त्री लेखकको भनाई

पुस २२, २०८१

सरकारले कञ्चनपुरको शुक्लाफाँटास्थित नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाउँदै कुटनीतिक माध्यमबाट समाधान गर्ने बताएको छ । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली भूमि र सीमाको रक्षा गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको हो । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले राज्यका संयन्त्र र सुरक्षा निकायबाट भारतीय नागरिकले नेपाली भूमिमा खेतीपाती गरिरहेको बिषयबारे जानकारी आएको बताउनुभयो ।

मन्त्री लेखकले सो क्षेत्रमा पिल्लर राख्ने सहमति दुई देशबीच भएकाले अहिले उठेको बिषयलाई कुटनीतिक तवरबाट समाधान गरिने प्रतिवद्धता जनाउनुभयो । भारतका नागरिकले नेपाली भूमिको भोगचलन गरेको बिषयमा कूटनीतिक माध्यमबाट छलफल भइरहेको जानकारी दिनुभयो ।

यसअघि सत्तारुढ नेपाली कंग्रेस र एमालेका सांसदले कञ्चनपुरमा नेपाली भूमि भारतीय नागरिकले भोग चलन गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले सो बिषय समितिमा उठाउनुभएको थियो । 


प्रतिक्रिया