एन्फा महिला फुटबल लिगः त्रिभुवन आर्मीसँग वालिङ नगरपालिका १२–० गोलले पराजित

पुस २४, २०८१ | काठमाडौं

विभागीय त्रिभुवन आर्मी क्लबले एन्फा महिला फुटबल लिगको दोस्रो चरणमा आज अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित निकालेको छ ।

आर्मीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई १२–० ले पराजित गरेको हो । आर्मीको जितमा चन्द्रा भण्डारी र विमला चौधरीले ह्याट्रिक गरे । चन्द्राले ३ गोल तथा विमलाले ४ गोल गरिन् ।

सपना लामा र अञ्जला थुलुङ राईले २÷२ तथा विमला विकले १ गोल गरिन् । यो जितपछि आर्मीको ७ अंक भएको छ र गोल अन्तरको आधारमा शीर्ष स्थानमा उक्लेको छ । पुलिसको पनि समान ७ अङ्क नै छ । एपीएफको ६ अङ्क छ ।

वालिङ र वाग्मती प्रदेश अङ्कविहीन छन् । वालिङ भने गोल अन्तरले पाँच टिममध्ये अन्तिम स्थानमा छ । लिगअन्तर्गत भोली हुने खेलमा विभागीय डर्बीमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया