कोइरालालाई जिल्ला अदालत मोरङले १० लाख धरौटीमा रिहा गर्न आदेश
पुस २४, २०८१
मोरङको धनपालथान–३ स्थित उमागौरी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइरालालाई जिल्ला अदालत मोरङले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अञ्जलालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
धरौटी बुझाएसँगै अञ्जलालाई तारिखमा छोडिएको बुढाथोकीले बताउनुभयो । अदालतमा आज नै उपस्थित हुनुभएकी अञ्जलाको बयान लिएपछि सरकारी वकिल तथा प्रतिवादीका तर्फबाट बहस भएको थियो । गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ २० पैसा हिनामिना गरिएको भन्दै अञ्जलासहितका २६ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो ।
मुद्दा दायरपछि विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका समेत रहेकी कोइराला सम्पर्कविहीन हुनुहुन्थ्यो । हालसम्म सो प्रकरणमा एक जना पुर्पक्षको लागि थुनामा छन् भने एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना प्रतिवादी अझै फरार रहेको प्रहरीले जनाएको छ ।