चीनको दिङ्गे काउन्टीमा ७ रेक्टर स्केलको भूकम्प

पुस २३, २०८१ | काठमाडौं

काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टी रहेको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सीमामा पर्ने दिङ्गे काउन्टीमा ७ रेक्टर स्केलको भूकम्प गएको हो । 

दिङ्गे काउन्टी संखुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताउनुभयो । 

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं कोशी प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । भूकम्पले घर हल्लाउँदा सर्वसाधारणमा भागदौड मच्चिएको थियो । 

लगातार भूकम्पले हल्लाउँदा तिब्बत नजिक रहेको ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा लगायत जिल्लामा ठूलो धक्का महसुस भएको हो । ती जिल्लामा भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । 

भूकम्पले माथिल्लो क्षेत्रमा के, कति क्षति भयो भन्नेबारे विवरण संकलनको प्रयास सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले बताउनुभयो । 

यता प्रहरीले पनि सम्भावित क्षति हुन सक्ने स्थानमा सतर्कता बढाएको छ । खुम्बु क्षेत्रको लबुचे नजिकै केन्द्रबिन्दु भएकाले पनि माथिल्लो क्षेत्रका विवरण संकलनको काम भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । माथिल्लो क्षेत्रमा पर्यटनको अफ सिजन भएकाले अधिकांश मानिस राजधानी तिर बस्दै आएका छन् । 


प्रतिक्रिया