पछिल्लो ५ महिनामा सर्पको टोकाईबाट नेपालमा ७० जनाको मृत्यु

पुस २२, २०८१ | काठमाडौं

पछिल्लो ५ महिनाको अवधिमा सर्पको टोकाइबाट देशका विभिन्न भागमा गरी ७० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार सर्पको टोकाइबाट ५ सय ३२ जना घाईते भएका छन् भने २ सय २६ जनाको उद्दार गरिएको छ । समग्रमा विभिन्न जनावरको आक्रमणबाट यो अवधिमा ८३ जनाको मृत्यु भएको छ ।

विभिन्न स्थानमा जनावरबाट हुने मानविय क्षतिका घटनाहरु बृद्धि भएको जनाउँदै प्रहरीले जोखिमयुक्त क्षेत्रमा नजान तथा सतर्कता अपनाउन आग्रह गरेको छ । विश्वमा प्रत्येक वर्ष झण्डै २७ लाख व्यक्तिहरु सर्पको टोकाइबाट प्रभावित हुने गरेका छन् भने वार्षिक रुपमा १ लाख ३८ हजार जनाले सरदरमा ज्यान गुमाउने गरेका छन् ।


सन् २०१० बाट २०२२ सम्मको १२ वर्ष वर्षको अवधिमा गरिएको अध्ययन अनुसार नेपालमा वार्षिक १ हजार देखि ३ हजार २ सय २५ जनाले ज्यान गुमाउने गरेको पाइएको छ । नेपालमा विशेषगरि तराई भेगका जिल्लामा सर्पदंशको घटना बढी हुने गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल नेपालका ३१ जिल्लामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् ।

प्रहरीले सर्वजनिक गरेको विवरण अनुसार पछिल्लो पाँच महिनामा हात्तिको आक्रमणबाट ६ जनाको मृत्यु हुँदा १४ जना घाईते भएका छन् भने ३ जनाको उद्दार गरिएको छ । प्रहरीका अन्ुसार पछिल्लो पाँच महिनाको अवधिमा ४ जनाले गौंडाको आक्रमणमा परि ज्यान गुमाएका छन् भने १४ जना घाइते भएका छन् । यो अवधिमा बाघको आक्रमाबाट ३ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाईते हुँदा ११ जनाको उद्दार गरिएको छ । प्रहरीका अनुसार भालुको आक्रमणबाट १५ जना घाईते भएका छन् । 


प्रतिक्रिया