सरकारका सकारात्मक काममा एक ठाँउमा उभिएर अघि बढ्ने सत्तारुढ दलको निष्कर्ष
माघ १४, २०८१
सत्तारुढ दलको बैठकले संसदको काम कारबाहीमा तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाँउमा उभिएर अघि बढ्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सत्तारुढ दलको बैठकले सरकारका कामलाई अझ प्रभावकारी बनाउनका लागि सबैले सहयोग गर्ने सहमति भएको हो ।
त्यस्तै, संसदको हिउँदे अधिवेशनमा बढीभन्दा बढी कानुन निर्माण गर्ने निर्णय समेत गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदका काम कारबाहीमा सत्तारुढ दल एक ठाउँमा उभिने सहमति भएको र सरकारका काम प्रति समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो ।
प्रमुख सचेतक बर्तौलाले संसदको बैठकमा प्रधानमन्त्री सहित शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने र संसदको काम कारबाहीमा सत्तारुढ दलहरु एक ठाउँमा उभिएर सशक्त र बलियो बनाउँदै लैजाने निर्णय भएको उल्लेख गर्नुभयो ।