रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा सहकारी ठगीमा मुद्दा दायर
माघ २२, २०८१
सहकारी ठगीमा आज चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध मुद्दा दायर भएको छ । चितवन जिल्ला अदालतका सुचना अधिकारी अमृत विश्वकर्माले लामिछानेसहित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा ३२ जना विरुद्ध मुद्दा दायर भएको जानकारी दिनुभयो ।
लामिछानेलाई गोरखा मिडियामा गएको रकम अपचलनमा मुद्दा दायर भएको हो । साहारा चितवनबाट गोरखा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १ सय ५१ रुपैया ठगी गरी लगेको अभियोगपत्रमा उल्लेख छ । गीतेन्द्रबाबु (जिबी) राई, छबिलाल जोशी, लक्ष्मीप्रसाद पौडेल, लामिछानेसहित चार जनाबाट सामुहिक दायित्वमा हुन आउने बिगो असुल उपर गराई पाउँ भन्ने माग दावी छ ।
लामिछानेलाई सहकारी ठगीमा मात्रै मुद्दा दायर भएको तर अन्य केहीलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएको चितवन जिल्ला न्यायाधीवक्ता कार्यालयका प्रमुख रहेका सरकारी वकिल शान्तीप्रसाद लुईटेलले बताउनुभयो । सहकारीबाट गोरखा मिडियामा आएको रकम अरुलाई दिने र लामिछानेले पनि लिएका कारण ठगी पुष्टी भएको अभियोगमा उल्लेख छ ।