भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा प्रबन्ध गर्न सरकारलाई संसदको निर्देशन

वैशाख २६, २०८२ | काठमाडौं
प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभएको हो ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले भारत–पाकिस्तानवीच द्वन्द्व बढिरहेकाले त्यहाँ रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । यसैबीच सत्तारुढ दल नेपाली कांग्रेसले कुनैपनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ । सो पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस आतंकवादको विरुद्धमा रहेको बताउनुभयो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा उहाँले भारतको पहलगाममा गत अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि सिर्जित समस्या लगायतबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुुभएको थियो । राजदूत श्रीवास्तवले घटनाका सम्बन्धमा नेपाल सरकारको वक्तव्यप्रति आभार प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिको पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान रहने बताउनुभएको थियो ।