कालीकोटको मुम्रा गाउँ बालविवाह निषेधित घोषणा

जेष्ठ २०, २०८२ | कालीकोट
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–८ मुम्रालाई बालविवाह निषेधित गाउँ घोषणा गरिएको छ । ‘नगरौं बिहेको कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने नाराका साथ सोमबार सरोकारवाला, अभिभावक, बालबालिका, किशोरकिशोरीको सहभागितामा आयोजित विशेष समारोहमा मुम्रालाई बालविवाह निषेधित गाउँ घोषणा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसी, उपाध्यक्ष पार्वती सिंह सञ्ज्याल, अधिवक्ता तथा सुभकालिका गाउँपालिका पूर्वअध्यक्ष खडानन्द चौलागाईको उपस्थितिमा मुम्रालाई बालविवाह निषेधित गाउँ घोषणा गरिएको हो ।
गाउँमा कसैले पनि बालविवाह नगर्ने÷नगराउने प्रतिबद्धता सहित बालविवाह निषेधित गाउँ घोषणा गरिएको सान्नीत्रिवेणी–८ का वडाध्यक्ष नौला सिंह बुढाले बताउनुभयो । ‘बालविवाह कानूनी र सामाजिक अपराध हो,’ उहाँले भन्नुभयो, ‘अबदेखि मान्ने देवीदेवतालाई साक्षी राखेर प्रतिबद्धता गरेका छौं ।’
वडा अध्यक्ष बुढाले चार वर्ष अघिसम्म ६८ प्रतिशत बालविवाह रहेको मुम्रामा प्लान नेपाल सहितका गैरसरकारी संघसंस्थाको सहयोगमा अभियान सञ्चालन गरेपछि २०८१ चैत्रमा १० प्रतिशतभन्दा कम पाइएपछि वडालाई बालविवाह निषेधित घोषणा गरिएको बताउनुभयो ।
बालबालिकको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षणमा बालविवाहले प्रतिकूल असर परेकोले २ वर्षभित्र बालविवाह मुक्त पालिका घोषणा गर्न अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो । ‘बालविवाहको कुचक्रले जीवन नै तहसनहस बनाएको छ’, उहाँले भन्नुभयो, ‘उमेर नपुगी विहे गरेका किशोरीहरु कुपोषणको मारमा छन् । सम्बन्ध विच्छेद भएर दुःख पाएको अवस्था छ ।’
बालविवाह निषेधित घोषणापछि पालिकाले किशोरकिशोरीको शिक्षाका लागि लगानी गर्ने उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले बताउनुभयो । बालविवाहविरुद्ध बालबालिका नै अभियन्ताको रुपमा सक्रिय हुनुपर्ने सान्नीत्रिवेणी–१ का वडाध्यक्ष बैकुण्ठ गिरीले बताउनुभयो ।
बालविवाह गर्नेलाई सामाजिक बहिस्कार गरिने वडा नम्बर–३ का अध्यक्ष रङ्गलाल देवकोटाले सुनाउनुभयो । कालीकोटमा बालविवाह गरेका ५० प्रतिशतको जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा जाने गरेको अधिवक्ता तथा शुभ कालिका गाउँपालिकाका पूर्वअध्यक्ष खडानन्द चौलागाईले बताउनुभयो ।
कालीकोटका ८२ मध्य हालसम्म तिलागुफा, शुभकालिका, रास्कोट, नरहरिनाथ र सान्नीत्रिवेणीका २३ वटा वडा बालविवाह निषेधित घोषणा भइसकेका छन् ।