नागरिकता सम्वन्धी विधेयक संसदीय समितिबाट पारित

जेष्ठ २७, २०८२ | काठमाडौं
बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरे नागरिकता दिने व्यवस्थासहित ल्याइएको नागरिकता सम्वन्धी विधेयक संसदीय समितिले पारित गरेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ मा दोस्रो पटक संशोधन गर्न ल्याइएको विधेयक पारित गरेको हो ।
समिति सभापति रामहरि खतिवडाले विधेयक सर्वसम्मत रुपमा पारित भएको जानकारी दिनुभयो । यसैबीच, गृहमन्त्री रमेश लेखकले बाबुको पहिचान नभएको स्वघोषणा आमाले गरेमा उनका सन्तानलाई नागरिकता दिने विषयलाई मुख्य रुपमा सम्वोधन गरिएको बताउनुभयो । समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले तीन वटा सर्तसहित बाबुको पहिचान नभएको घोषणा गरेको खण्डमा नागरिकता दिने व्यवस्था गरिएको बताउनुभयो ।
आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न विधेयकले थप सहजीकरण गर्ने उहाँको भनाइ थियो । अर्को प्रसंगमा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिककालागि छुट्टै विधेयक ल्याउन लागिएको बताउनुभयो ।
नागरिकता प्रदानमा देखिएको कानूनी जटिलता हटाउन भन्दै सरकारले प्रतिनिधिसभामा गत माघ १५ गते विधेयक पेश गरेको थियो ।