काठमाडौं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

जेष्ठ २८, २०८२ | काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 काठमाडौंको सामाखुसी करिडोर क्षेत्र अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्दा अनियमितता गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

ढल निमार्णका लागि आह्वान भएको बोलपत्र अनुसार दोस्रो नम्बरको कम्पनीलाई अनधिकृत रुपमा ठेक्का दिएको पाइएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो । अख्तियारकाअनुसार महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित महानगरका निर्देशक रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । 

प्रतिवादी बनाइएका ७ जनाले मिलेमतोमा ढल निर्माणका लागि पहिलो नम्बरमा रहेको समानन्तर सेवा प्रालीले १८ करोड ९ लाख रुपैयाँको प्रस्ताव गरेकोमा २२ करोड ४० लाख रुपैयाँको प्रस्ताव गर्ने दोस्रो नम्बरको कल्पवृक्ष–कोहिनुर जे.भिलाई ठेक्का दिलाएको पाइएको अख्तियारको दाबी छ । 

दुई निमार्ण कम्पनी बीचमा प्रस्तावित रकमबीच हुन आउने अन्तर बराबरको ४ करोड ३१ लाख रुपैयाँ हिनामिना भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध सोही बराबरको रकम बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रतिवादी बनाइएका मध्ये तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियार अहिले सूचना तथा प्रसारण विभगको महानिर्देशकका रुपमा कार्यरत छन् । 


प्रतिक्रिया