संसद्का दुवै सदनको बैठक बस्दै

असार १५, २०८२ | काठमाडौं

संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सरकारले प्रतिनिधि सभाको आजको बैठकमा निजामती विधेयक पारित गर्ने तयारी गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । 

सो विधेयकमाथि सांसदले धारणा राखेपछि पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । कानून अभावमा मुलुक संघीय संरचनामा गएपनि प्रशासनिक संघीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लामो समयदेखि रोकिएको थियो । 

सरकारी सेवाबाट अनिवार्य वा राजीनामा दिएर अवकाश पाएका कर्मचारीले २ वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्था सो विधेयकमा छ । सरकारलाई दबाब दिएर आफ्नो स्वार्थ अनुकूल विधेयकमा संशोधन गर्न मुख्यसचिव, संघीय संसद्का महासचिव र सचिवले लबिइङ गर्दै आएका थिए । 

सभामुख देवराज घिमिरेलाई प्रधानमन्त्री मार्फत दबाब दिन लगाएर निजामती विधेयक पारित गर्नबाट रोकिएको थियो । यसअघि प्रतिनिधि सभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भएपनि अन्तिम समयमा आएर रोकिएको थियो । 

यो विधेयक २०८० फागुन २१ गते सदनमा दर्ता भएको थियो । २०८० चैत २१ गते विचार गरियोस् भनेर सदनमा सैद्धान्तिक छलफल भएको थियो । २०८१ जेठ १५ गते समितिमा सदनबाट पठाइएको सो विधयेक २०८२ असार १ गते प्रतिनिधिसभामा पेस भएको थियो । 

प्रतिनिधि सभाले सो विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नुहुनेछ । सभामुखले प्रमाणित गरेर राष्ट्रपति समक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । 

यस्तै, राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमध्ये १४ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।


प्रतिक्रिया