राप्रपा परित्याग गर्ने केन्द्रीय सदस्यको संख्या बढ्दै

श्रावण १७, २०८२ | काठमाडौं
राप्रपामा पछिल्लो समय पार्टी परित्याग गर्ने केन्द्रीय सदस्यको संख्या बढ्न थालेको छ । सामाजिक सञ्जालमा पार्टीबाट राजीनामा दिनेहरुको संख्या बढ्न थालेको हो । पछिल्लो समय राप्रपाकी केन्द्रीय सदस्य सिता बस्यालले पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको घोषणा गर्नु भएको छ ।
बस्यालले पनि सामाजिक सञ्जालमा पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको जानकारी गराउनु भएको हो । पूर्वी नवलपरासी गैंडाकोटकी स्थायी वासिन्दा बस्याल पार्टी स्थापना कालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर राजतन्त्र र हिन्दूधर्मका पक्षमा सक्रिय रहदै आउनु भएको थियो । उहाँ अघिल्लो आम निर्वाचनमा राप्रपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बन्नु भएको थियो ।
तीन दिन अघि केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पनि पार्टी परित्याग गरेको घोषणा गर्नु भएको थियो । कार्कीले पछिल्लो समय पार्टीभित्र चाकडी, चाप्लुसी, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिने प्रवृत्ति हाबी भएकाले पार्टी छाडेको बताउनु भएको थियो ।