आर्यतारा शाक्य नयाँ कुमारी घोषित

आश्विन १४, २०८२ | काठमाडौं
काठमाडौंको जीवितदेवी कुमारीको रुपमा छनोट हुनुभएकी साढे २ वर्षीया आर्यतारा शाक्यलाई आज विशेष सम्मानका साथ वसन्तपुरस्थित कुमारी घरमा भित्राइएको छ ।
नयाँ कुमारी आर्यतारालाई आज तलेजु भवानीको दर्शन गराई शुभसाइतमा कुमारी घरमा आसन गराइएको हो । उहाँको निवासदेखि वसन्तपुरस्थित कुमारी घरसम्म बाजागाजासहित सम्मानका साथ भित्र्याइएको हो । वसन्तपुरस्थित कुमारी घरमा आसन ग्रहणपछि नयाँ कुमारीलाई विशेष सम्मान अर्पण गरिएको थियो। कुमारीलाई जीवित देवीका रूपमा पूजाआजा गर्ने परम्परा रहेको छ ।
कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने परम्परा छ । १२ वर्ष उमेर पुगेसँगै तृष्णा शाक्यलाई कुमारी पदबाट अवकाश दिइएपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो । तृष्णालाई आजै सम्मानसहित घर पठाईएको छ ।