मुलुकका अधिकांस स्थानमा वर्षा

आश्विन १६, २०८२ | काठमाडौं
मनसुनी वायु सक्रिय भएसँगै गएरातिदेखि मुलुकका अधिकांस स्थानमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा जारी रहेको हो । वर्षाको क्रम आगामी चार दिनसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणालीका कारण नेपालमा मनसुनी वायु प्रवेश गरेको हो ।
विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनमा वर्षाको प्रभाव पर्ने विभागको भनाई छ । त्यस्तै, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले जनाएको छ । नारायणी, बागमती, कमला, कोशी नदीसँगै यी नदीका सहायक नदीहरुमा पानीको बहाव उच्च रहने अनुमान गरिएको छ । त्यस्तै, महाभारत र चुरे भई बहने स–साना नदीनालाहरुमा पनि आकस्मिक पानीको बहाव बढ्ने सम्भावना छ ।
आगामी सोमबारसम्म यात्रा नगर्न अनुरोध
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । प्राधिकरणले आजदेखि आगामी सोमबारसम्म खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै यात्रा नगर्न अनुरोध गरेको हो ।
भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट जोगिन सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्तिमा वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने व्यवस्था गर्न सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई समेत आग्रह गरिएको छ ।