आज विजयादशमी देशभर आज हर्षोल्लासपूर्वक मनाइँदै

आश्विन १६, २०८२ | काठमाडौं
विजयादशमी देशभर आज हर्षोल्लासपूर्वक मनाइँदैछ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक पहेलो जमरा लगाएर मनाउन लागिएको हो ।
दसैंघर वा पूजा कोठामा ९ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाउने प्रचलन छ । टीका ग्रहणका लागि आज उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्कनु उपयुक्त हुने छ ।
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएकी देवीलाई विसर्जनको साइत भने आज बिहान ९ बजेर २३ मिनेटमा रहेको छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभरी शान्ति हुने मान्यता बमोजिम टीका र प्रसाद लगाउनुअघि मान्यजनबाट अभिषेक गर्ने प्रचलन रहेको हो ।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन आज हो ।