महिला विश्वकप क्रिकेटः भारत र पाकिस्तानका खेलाडीले हात नमिलाउने

आश्विन १६, २०८२ | काठमाडौं
भारत र पाकिस्तानबीच आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा हुने महिला एकदिवसिय विश्वकप खेलका क्रममा हात मिलाउने परम्परा पालना नहुने भएको छ ।
भारतीय कप्तान र पाकिस्तानी कप्तानले टस हुने समयमा पनि हात नमिलाउने विवरण सार्वजनिक भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
यसघि एसिया कप क्रिकेटमा समेत दुइ देशका खेलाडीले एक अर्काबीच हात मिलाएका थिएनन् । पाकिस्तानसँगको सम्बन्धमा परिवर्तन नआएकाले खेलमा आवश्यक सबै क्रिकेट नियम पालना गर्ने तर अनावश्यक औपचारिकता भने नअपनाउने भारतीय क्रिकेट बोर्डका अधिकारीले बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
हाल महिला विश्वकपमा पाकिस्तान टिमका सबै खेल कोलम्बो, श्रीलंकामा हुँदैछन् । भारतले पाकिस्तानमा हुने प्रतियोगितामा नगई तटस्थ स्थलमा मात्र खेल्ने नीति अपनाएको छ ।
सोही अनुसार पाकिस्तानले पनि भारतमा आयोजना हुने खेलहरु तटस्थ मैदानमा खेल्ने सहमति गरेको छ । जारी महिला विश्वकपमा आज बंगालादेश र पाकिस्ताबीच प्रतिस्पर्धा हुँदै छ । सो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलङ्काको कोलम्बोमा हुनेछ । यसअघि हिजो भएको खेलमा अस्ट्रेलियाले न्यूजील्याण्डलाई ८९ रनले पराजित गरेको थियो ।
यसैबीच क्रिकेटकै अर्को प्रसँगमा आजबाट भारत वेस्ट इन्डिजको पुरुष टोलीबीचको टेस्ट सिरिज सुरु हुँदै छ । २ खेल समावेश सिरिजको पहिलो खेल आज विहान पौने ९ बजेबाट सुरु हुनेछ । विश्व टेस्ट च्याम्यिनसिपमा भारत तेस्रो तथा वेस्ट इन्डिज छैटौं स्थानमा रहेका टोली हुन् । शीर्ष स्थानमा अस्ट्रेलिया रहँदा दोस्रो स्थानमा भने श्रीलङ्का रहेको छ ।