जेनजी आन्दोलनः क्षतिग्रस्त सरकारी भवनको पुनर्निर्माण प्रक्रिया सुरु

आश्विन २३, २०८२ | काठमाडौं
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त सरकारी भवनको पुनर्निर्माण प्रक्रिया सुरु गरिएको छ ।
भवन विभागले तत्काल ४ सय ४० वटा भवनको पुनर्निर्माण प्रक्रिया अगाडि बढाएको छ । पुनर्निर्माणका लागि भवनहरूको डिजाइनको जिम्मेवारीसमेत दिइसकेको विभागको भनाइ छ ।
जसअनुसार राष्ट्रपतिको कार्यालय, सिंहदरबारको मुख्य, संसद् भवन, प्रधानमन्त्रीको निवास, विभिन्न मन्त्रालय र मन्त्री निवासलगायतका ५५ वटा विशिष्ट भवनको पुनर्निर्माण संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत अगाडि बढाइने छ ।
भवन विभागले गरेको अध्ययन अनुसार देशभरिका ४४० वटा क्षतिग्रस्त संघीय सरकारी कार्यालयमध्ये ३० वटा भवनमा सामान्य क्षति, १ सय ३४ वटा पूर्ण क्षति र १ सय ७६ वटा भवनमा आंशिक क्षति भएका छन् ।
यस्तै, विभागकाअनुसार आगजनीबाट सबैभन्दा बढी कास्की जिल्लाका ७० वटा सरकारी भवनमा क्षति पुगेको छ । त्यसपछि दोस्रोमा सबभन्दा बढी काठमाडौँ जिल्लामा ५६ वटा भवन क्षतिग्रस्त भएका छन् ।